जनकपुर, ८ कात्तिक । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली मुलुकको लागी घातक रहेको बताए । पार्टीको जनकपुरधाम उपमहानगर समितिले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणालीले अगामी दिनमा थप संकट निम्त्याउने बताउँदै प्रणाली फेर्नु पर्ने बताएका हुन् ।
दिनानुदिन महंगिदै गएको निर्वाचनले योग्य र इमान्दार व्यक्तिहरु राजनीतिबाट पलायन हुने उनले बताए । यो प्रणलिले राजनीतिमा माफियाहरु हावी हुने भएकोले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा जानु पर्ने आवश्यकता रहेको उनको कथन रहेको छ ।
करोडौं खर्चेर जित्ने जनप्रतिनिधिहरुबाट विकासको अपेक्षा गर्न नसक्ने बताउँदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा गयौ भने चुनावी खर्च न्युन हुने, इमान्दार नेताहरुले संसदमा स्थान पाउने तथा विज्ञहरु सरकार संचालन गर्ने अवस्थाको सृजना हुने उनको भनाई रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय सहितका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।