गमक पोष्ट समाचारदाता / जनकपुर, २० असोज । प्रदेश २ को सरकारले आज विश्वासको मत लिने भएको छ । प्रमुख सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन लागेका हुन् ।
त्यसका लागि आज ११ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । झण्डै २ महिनापछि सरकारको सिफारिसमा आज संसद बोलाएको हो । तर विपक्षितले भने संसद चल्न नदिने बताएका छन् ।
गत भदौ ९ गते जसपा औपचारिक रूपमा विभाजन भएको थियो । तर निर्वाचन आयोगले सनाखतको समय भदौ २२ गतेसम्म तोकेकाले त्यसको एक महिनाभित्र मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री राउतले आजको बैठकमा विश्वासको मत लिने प्रदेश सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
अहिले मुख्यमन्त्री राउतलाई जसपासँगै पाँचदलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिनेछन् ।
कांग्रेस र माओवादी केन्द्र सरकारमै छन् । गठबन्धनमा रहेको एकीकृत समाजवादीले पछि सरकारमा सहभागी हुनेगरी विश्वासको दिने यसको संसदीय दलका नेता शत्रुधन महतोले बताए ।
हाल प्रदेशसभामा १०४ जना सांसद छन् । सत्तारूढ जसपाका ३८, कांग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ८ सांसद छन् ।
एकीकृत समाजवादीका १३ जना सांसद छन् भने एक सांसद रहेको संघीय समाजवादी पार्टी पनि सरकारकै पक्षमा छ ।
यस हिसाबले मुख्यमन्त्री राउतले ७९ जना सांसदबाट विश्वासको मत पाउने निश्चितजस्तै छ । योसँगै मुख्यमन्त्री राउतको सरकार दुईतिहाइको शक्तिशाली सरकार बन्नेछ ।