गमक पोष्ट समाचारदाता / काठमाडौं, १७ असोज । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्ने भएकी छन् । आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।
अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक महिला अध्यक्ष बनेको हो । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारी आफै अध्यक्ष चुन्न नसकेपछि चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
नेतृत्व चयनको विषयमा छलफलका लागि अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगी निर्णयमा पुगेको बताइएको छ ।
अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट आजै पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने बताइएको छ ।