गमक पोष्ट समाचारदाता / जनकपुर, १६ असोज । जनता समाजवादी पार्टी (जसपा) निकट युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको छ । मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग आयोगले छापा मारेको विरोधमा युवाहरुले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस गरेका हुन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुर, सिरहा, सप्तरी लगाएतका जिल्लाहरुमा सदरमुकामहरुमा पार्टी निकट विद्यार्थी तथा युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।
मसाल प्रदर्शन गर्ने क्रममा उनीहरुले जनकपुर, सिरहाको मिर्चैया, सप्तरीको राजविराज लगायतको स्थानमा अख्तियारविरुद्व नाराबाजी गरेका थिए । ‘मधेशविरोधी अख्तियार मुर्दावाद, संघीयता विरोधी अख्तियार मुर्दावाद, अख्तियार प्रमुख राजीनामा दे’ लगायतका नारा सहित मशाल जुलुस प्रर्दशन गरेका छन् ।
अख्तियारले छापा मारेपछि जसपाको प्रदेश समितिले जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गर्न आह्वान गरेको थियो । विरोधका कार्यक्रम अन्तर्गत आइतबार जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिने जसपाले जनाएको छ ।
प्रदेश २ सरकारले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्दै बुधबार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मार्दै कागजात नियन्त्रणमा लिएको थियो ।