गमक पोष्ट समाचारदाता
वीरगञ्ज, १५ असोज । पर्सा प्रहरीले स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित वीरगञ्जबाट दुईजना भारतीय सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले स्रोत नखुलेको रकम सहित भारतको पूर्वी चम्पारण थाना कंगेली १ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका ३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई रकमसहित नियन्त्रणमा लिएको हो ।
छपकैया–सिर्सिया नाका हुँदै हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज २५ सिर्सिया छोटी भन्सार अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
आशंकाको आधारमा खोजतलास गर्दा प्रहरीले उनीहरुले लगाएको हेल्मेटभित्र पैसा फेला परेको थियो । उनीहरुले सो रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको प्रहरीको भनाई छ ।
प्रहरीले उनीहरु सवार ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सवै जना माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।