गमक पोष्ट समाचारदाता / जनकपुर, १५ असोज । प्रदेश २ को नेकपा (एमाले) संसदीय दलको नेतामा पुनः सत्यनारायण मण्डल चयन भएका छन् । पार्टीको प्रमुख सचेतकमा किशोरी साह कमल चयन भएका एमालेले जनाएको छ ।
नेकपा एमाले विभाजन पश्चात् पहिलोपटक बुधबार बसेको एमाले संसदीय दलको बैठकले दल नेतामा पुनः दोश्रो पटक मण्डललाई सर्वसम्मत चयन गरेको हो ।
यस अघिका एमाले संसदीय दलका नेता सत्रुधन महतो र प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा पार्टी विभाजन पश्चात् एकीकृत समाजवादीमा गएपछि दुबै पद रिक्त थिए ।
निर्वाचन लगत्तै एमालेमा मण्डल नै दलको नेता बनेका थिए । एमाले र माओवादी एकीकृत भएर नेकपा गठन हुँदा पनि मण्डल नै दलका नेता यथावत थिए ।
सर्वोच्चको फैसलाले दुबै दल पुरानै अवस्थामा फर्केपछि माधव नेपाल पक्षका १३ सांसदले बहुमतसहित मण्डललाई हटाएर सत्रुधन महतोलाई दलको नेता बनाइएको थियो । पार्टी विभाजन पश्चात् एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना एकीकृत समाजवादीमा गइसकेका छन् ।
प्रदेशसभामा एमालेमा हाल ८ जना मात्रै सांसद छन् । प्रदेश २ सभामा सुरुमा तेस्रो शक्तिको रुपमा रहेको एमाले विभाज पश्चात् पाँचौ स्थानमा पुगेको छ भने एकीकृत समाजवादी चौथो शक्ति बनेको छ ।