गमक पोष्ट समाचारदाता
वीरगञ्ज, ८ असोज । वीरगञ्ज भन्सार र राजस्व अनुसन्धान कार्यालय पथलैयाले बुझ्न अस्विकार गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको ९ लाख ६० हजार मूल्य बराबरको खसी धनीलाई नै फिर्ता दिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १४ गण्डक चौकबाट चेकजाँचको क्रममा ना.१४ च १९१४ नम्बरको बोलेरो पिकअपबाट ५९ वटा खसी नियन्त्रणमा लिएको हो ।
भेटेनरी प्रमाणपत्र बारा जिल्लाको नाममा चौपाया लिए पनि बिलबिजक व्यक्तिको नाममा पाइएपछि प्रहरीले चालक सिन्धुलीको फिक्कल १ निवासी २२ वर्षीय पुर्ण बहादुर सुनुवारलाई बोलेरोसहित खसी नियन्त्रणमा लिएको थियो ।
नियन्त्रीत खसी वीरगञ्ज भन्सार कार्यालयको मुद्दा शाखामा बुझाउन जाँदा कार्यालयका कर्मचारी झलकबहादुर श्रेष्ठले खसीको अनलाईन बिल भएकाले बुझ्न अस्विकार गरेका थिए ।
पुनः राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउ नजाँदा पशु चौपाया बुझ्न नपाउने भनी फिर्ता पठाएपछि पर्सा प्रहरी खसी धनीलाई नै फिर्ता दिन बाध्यभएको पर्साका प्रहरी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
यता भन्सारकै कर्मचारीले बुझ्न अस्विकार गरेपछि कर्मचारीकै मिलेमतोमा तस्करी भएको भन्ने आशंका उत्पन्न भएको छ ।