गमक पोष्ट समाचारदाता / जनकपुर, २ असोज । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् । प्रदेश नं. २ का अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा जनकपुर आएका अध्यक्ष दहालले सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार विस्तारमा कुनै समस्या नरहेको भन्दै ४ असोजपछि विस्तार हुने बताएका हुन् ।
गठवन्धन दलहरुको विचमा कुनै मतभेद नरहेको अध्यक्ष दहाले बताए । उनले भने, ‘गठबन्धनमा कुनै समस्या छैन; अब सरकार विस्तार हुन्छ ।’
संविधानका विषयमा रहेका असन्तुष्टिलाई समाधान गर्न संविधान संशोधनको विषयलाई अगाडि बढाउने आफू तयार रहेको दहालको भनाई रहेको थियो । ‘म प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको थिएँ,’ दहालले भने, ‘तर केपी ओलि कमरेडको कारण संशोधन हुन सकेन । अब त्यस विषयलाई राष्ट्रव्यापी रूपमा अगाडि लिएर जान्छौ ।’
सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष दहालले एमसीसी संशोधन गरेर मात्र पास गर्न सकिने बताए ।