गमक पोष्ट समाचारदाता / जनकपुर, २८ भदौ । नेकपा एकीकृत समाजवादीको प्रदेश संसदीय दलको नेता चयन गरेको छ । निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएलगत्तै नेकपा एकीकृत समाजवादीले नेता चयन गरेको हो ।
एकीकृत समाजवादीको आज बसेको प्रदेशसभा संसदीय दलको बैठकले प्रदेश १ मा राजेन्द्र राईलाई प्रदेसभा संसदीय दलको नेता चयन गरेको छ । यस्तै प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधनप्रसाद महतोलाई चयन गरेको छ ।
महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ ख बाट निर्वाचित हुनुभएको थियो । प्रदेश २ मा संसदीय दलको बैठकले नेता मात्रै चयन गरेको र प्रमुख सचेतकपछि चयन गरिने पार्टीका सांसद अशोक कुमार यादवले जानकारी दिनुभयो ।
नेकपा एमालेबाट अलग भएर छुट्टै बनेको नेकपा एकीकृत समाजवादीको १३ जना सांसद छन् । १३ जना सांसद एकीकृत समाजवादीमा आउँदा नेकपा एमालेका ८ सांसद मात्रै छन् । यस्तै नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन हुनुभएकोछ ।
यसैगरी प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन हुनु भएको छ । सोमबार हेटौंडामा बसेको एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले उहाँरुलाई चयन गरेको हो ।