गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २२ भदौ । वीरगञ्ज बसपार्क टर्मिनलका ठेकेदारहरुले अनावश्यक रुपमा दुःखदिएको यातायात व्यवसायीहरुले गुनासो पोखेका छन् । बस सञ्चालन गर्ने कुनै पूर्वाधार नहुँदापनि विस्तारै व्यवस्थित हुँदै जाला भन्ने ध्येयले टर्मिनलबाट बस सञ्चालन गरेपनि अहिले टर्मिनलका ठेकेदारहरुको मनोमानी बढ्दै गएको पर्सा नारायणी यातायात प्रा.लि. पर्साका अध्यक्ष जगत साहकानुले बताए ।
टर्मिनलका ठेकेदार कम्पनीसँग भएको सहमति अनुसार शूल्क बुझाउँदापनि गत साउनदेखि पूर्व सहमति विपरित डर, धाक देखाउँदै दोब्बर र सो भन्दापनि बढी रकम असुल्नथालेको पूरानो नारायणी यातायातकम्पनी प्रा.लि.का संयोजक श्याम उप्रेतीले बताए ।
टर्मिनल कम्पनीका ठेकेदारको मनोमानी र दादागिरी बढ्दै गएपछि यातायात व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीमार्फत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको ध्यानाकर्षण गराएका छन् ।
कोरोना महामारीका कारण लामो समयसम्म सवारी ठप्प हुँदा घर न घाटको भएका यातायात व्यवसायीहरुसँग परवानीपुरमा समेत अनावश्यक पोष्ट खडा गरी पोखरिया, भिस्वा, कलैया लगायतका स्थानबाट सञ्चालनहुने बसहरुबाट समेत रकम असुली गर्ने कार्य भएकोमा विज्ञप्ती मार्फत आपत्ति जनाइएको छ ।
लकडाउनका कारण प्रभावित भएका यातायात व्यवसायीहरुलाई सरकारले समेत वेवास्ता नगरेर सौतेलो व्यवहार गरेको नेपाल यातायात व्यवसायी राष्ट्रि महासंघ जिल्ला समन्वय समिति पर्साका संयोजक बिनोद कुमार मानन्धरले बताए ।
राहत सम्बन्धीकुनै नीति नल्याउँदा बैंक तथा वित्तिय संस्थाहरुले पनि राहत तथा सहुलियत नदिँदा कतिपय व्यवसायीहरु सडकमा आइसकेको मानन्धरको भनाई छ ।
इातायात व्यवसायीहरुले ९ बुँदे माग राख्दै नगरप्रमुख सरावगीलाई ज्ञापन पत्रबुझाएका छन् ।
मागको सम्बोधन नभए बसका साँचोहरु नगर प्रमुखलाई बुझाउन बाध्यहुने विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ ९ बुँदे माग ः
१. सम्पूर्ण बसहरुलाई वस टर्मिनल भित्रबाट नै छुटाउने व्यवस्था हुनुपर्ने ।
२. बस टर्मिनल भित्रबाट बसहरु छुटाउनको लागि चाहिने आवश्यक पूर्वाधारहरु अविलम्ब निर्माण गर्नुपर्ने ।
३. बस टर्मिनल भित्रबाट छुट्ने र राती रहने बसहरुसँग पूर्व सहमती अनुसार नै शुल्कहरु लिने व्यवस्था गरिनु पर्ने ।
४. परवानीपुरमा ठेकेदार कम्पनीले गैर कानुनी ढंगले राखेको रकमअसुल्ने पोष्ट तत्काल हटाउनु पर्ने ।
५. मिति २०७७÷०९÷२२ गते वीरगञ्ज महानगर पालिकासँग भएको सहमतीको बुँदा नं. १ मा भएको प्रयोगात्मक सहमतीलाई खारेज गर्दै बस टर्मिनलबाट छुटेका लाई भानुचौक हुँदै गनतव्य स्थानतर्फ जाने व्यवस्था गरिनु पर्ने ।
६. बाइपास सडकमा काम नलाग्ने कबाडी बस, ट्रक तथा अन्य समानहरुलाई राख्न नदिने कार्यलाई निरन्तरता दिइनु पर्ने ।
७. बाइपास सडकमा कतिपय अवस्थामा कामविशेषले केहि समयको लागिमात्र
रोकिएका बस ट्रकलाई ट्राफिक प्रहरीले लक लगाई जरिवाना बापत चर्को रकम
लिइरहेको कार्यलाई तत्काल बन्द गरिनुपर्ने ।
८. सिटी राईड, छोटो दुरी र लोकल बसहरुको हकमा दैनिक एक पटक मात्र बस
टर्मिनलबाट निस्केको शुल्क लिइनुपर्ने ।
९ं रात्रीबसहरु राती ८ः०० बजे पछि बस टर्मिनलबाट छुटी घण्टा घरबाट गन्तव्य स्थानतर्फ जाने क्रममा ट्राफिक प्रहरीले रोक्ने तथा जरिवाना गरी रहेकोमा सो कार्य तत्काल रोक्नु पर्ने ।