केही वर्षयता नेपालमा वैकल्पिक राजनीतिको बहस पटकपटक उठ्दै सेलाउँदै जाने प्रकरण चलिरहेछ । चालु राजनीतिक व्यवस्थाभित्रका पार्टीहरूको यथास्थितिवादी प्रवृत्तिले उब्जाएको सामाजिक दिग्दारी र आक्रोशका बीचमा वैकल्पिक राजनीतिका विभिन्न दाबी जन्मिनु स्वाभाविक छ ।
यस्तो दाबी प्रस्तुत गर्ने संगठनहरू जन्मिएपछि तिनीहरूतिर एक पटक सबैको ध्यान जाने नै भयो । सिंगो समाजको आधारभूत समस्या समाधान गर्ने नयाँ विकल्प वा कम्तीमा समाजको आंशिक समस्या मात्र पनि समाधान गर्ने सही विकल्प प्रस्तुत गर्ने राजनीतिलाई जनताले तीव्र गतिमा सहर्याउने, साथ दिने गरेको इतिहास छ । परिस्थितिका विभिन्न बिब्ल्याँटाहरूका कारण त्यस्तो वैकल्पिक राजनीतिको विकासको गति कहिले तीव्र कहिले धीमा हुन सक्छ, त्यो भने अर्कै विषय हो । त्यसै गरी यदि वैकल्पिक राजनीतिको दावालाई प्रचार त गर्ने तर त्यसको अन्तर्वस्तु वैकल्पिक छैन भने त्यस्ता संगठनहरू या त अकर्मण्यताको दलदलमा भासिँदै निस्तेज हुन थाल्छन्, या चालु यथास्थितिवादी राजनीतिकै विभिन्न भँगालामा अस्तित्वरक्षाका निम्ति विलीन हुन बाध्य हुन्छन् । यस्तो परिदृश्य पनि नेपालमा थुप्रै पटक देखिँदै आएकै छ । वैकल्पिक राजनीतिको दावा गर्नेमध्येको एउटा पार्टी विवेकशील साझा पार्टी पनि हो । त्यसका एक नेता रवीन्द्र मिश्रले आफूलाई राजावादी धारमा उभ्याएपछि त्यो पार्टी फुटको झमेलामा फस्न पुगेको छ । विमर्श यही प्रसंगबाट सुरु गर्दा समसामयिकता पनि गाँसिनेछ ।
विवेकशील पार्टी र साझा पार्टी दुवैले वैकल्पिक राजनीति आवश्यक छ भन्दै निकै सशक्त प्रचार गरे । उनीहरूले एकता गरे, फुटे, फेरि एकता गरे र आज फेरि फुटउन्मुख छन् । तर के त्यो पार्टीले वास्तवमै वैकल्पिक राजनीति बोकेको थियो ? त्यस पार्टीको वैकल्पिक राजनीतिको सार भनेको सुशासन हो । सुशासन वा कुशासन भनेका त परिणाम हुन् वा रूप मात्र हुन्, कारण वा अन्तर्वस्तु होइनन् । कुशासनको कारण भनेको शासक वर्गको वर्गीयता, सामाजिक व्यवस्थाको संरचना र गलत वैचारिकी हो । कुशासनका आधारभूत त्यस्ता तत्त्वहरूबारे त्यो पार्टी प्रवेश नै गरेको थिएन । यथार्थमा कुशासन वा सुशासनबारे त्यो पार्टी रूपवादी अल्लारे थियो भन्दा फरक पर्दैन । त्यसैले त त्यस पार्टीका नेताहरू भ्रष्टाचारीलाई ‘पाप लाग्ला’ है भनेर सुधार्न चाहन्छन् । बूढानीलकण्ठजस्तो स्कुल खोल्यो भने जात व्यवस्था खत्तम हुन्छ भन्छन् अनि महिलाले पितृसत्तात्मक दासता खेपेर पुरुषलाई फुक्काफाल हुन सघाएको विषयलाई गतिलो प्रेमका रूपमा व्याख्या गर्छन् । हुँदाहुँदा त अर्को पार्टीले राज्यसँग माग राखी गरेको आन्दोलनविरुद्ध जुलुससमेत निकाल्छन् मानौं त्यो पार्टी आफैं राज्य हो !
त्यस पार्टीले प्रचार गरेको अर्को वैकल्पिक राजनीति भनेको युवाले राजनीति गर्नुपर्यो भन्ने आह्वान हो । प्रचार हेर्दा यस्तो लाग्थ्यो मानौं नेपालका अरू पार्टीमा युवा नै छैनन् अनि बूढा भएका नेताले पनि राजनीति बुढेसकालमैं मात्र सुरु गरेका हुन् । युवा भनेको उमेर हो, विचार होइन भन्ने हेक्कासम्म नराखी युवाले जिम्मा लिएपछि सब चीज ठीक हुन्छ भनेर जसरी प्रस्तुत गरियो, यो आफैंमा विसंगत चेतना थियो । वैकल्पिक र सुशासनको राजनीति अनि मध्यमवर्गीय पेसागत क्षेत्रमा नाम चलेकाले नेतृत्व गर्नेजस्ता रूपवादी प्रचारले सहरिया मध्यमवर्गीय युवाको एउटा जमातलाई आकर्षित गर्यो । देशमा चल्दै आएको लगातारको भिडन्तको माहोलबाट डराएको र दिग्दार भएको मध्यमवर्गको सानो हिस्सा साफसुथरा गतिविधि गर्छु भन्ने पार्टीतिर आकर्षित हुनु अस्वाभाविक थिएन । युवालाई रूप पक्षले छिट्टै आकर्षित गर्छ, त्यो उमेरको विशेषता हो । त्यस पार्टीको रूपवादी प्रचारको लपेटमा एक जमात युवा संगठित त भए तर समाजको पीँधको अन्तरविरोधको समाधान र व्यापक श्रमिक वर्गको मुक्तिका सन्दर्भमा आधारभूत कार्यक्रम र दिशा त केही पनि थिएन । एउटा चुत्थो संसद्वादी पार्टीले जस्तै पाँच वर्ष रूपवादी लफ्फाजी गर्नु र कहिले चुनाव आउँछ भनेर अघिल्लो चुनावमा फाटेको जाल सिलाउँदै बस्नुबाहेक यथार्थमै वैकल्पिक काम त केही बन्न सकेन किनभने त्यस पार्टीसँग प्रचार गरिएजस्तो वैकल्पिक राजनीति नै थिएन । यस प्रकारको स्थितिले त्यस पार्टीमा संकट उत्पन्न हुनु स्वाभाविक थियो । ‘नेपाल बन्द गर्दैनौं’, ‘पार्टी अफिस सानदार ढंगले सजाएका छौं’ जस्ता मध्यमवर्गीय रूपवादी नाराबाट संसदीय स्वार्थ पूरा नहुने देखेपछि रवीन्द्र मिश्रहरू प्रतिगामी कित्तामा ध्रुवीकरण भएरै भए पनि ‘सफल’ हुने बाटामा लागे । यो स्वाभाविक नै हो किनभने रूपले सधैं गुदीलाई छोपछाप पार्न सम्भव नै हुँदैनथ्यो, त्यो अन्तत: प्रकट भइछाड्यो । मिश्र नेतृत्वको जमातसँग सम्बन्धविच्छेदको स्थितिमा पुग्नु विवेकशील पक्षका लागि एउटा अवसर पनि बन्न सम्भव छ । यदि विवेकशील पक्षले पुरानै रूपवादी ढर्रालाई छाडेर नेपाली समाजका वास्तविक अन्तरविरोधहरूका जरा खोतल्न र त्यसको समाधानका निम्ति वैज्ञानिक दर्शन, सिद्धान्त र बाटो आत्मसात् गर्न साहस गरेमा त्यसले वास्तवमै वैकल्पिक राजनीतिमा योगदान गर्नु सम्भव पनि हुन सक्ला । विवेकशील पक्षले प्रदर्शनका नयाँनयाँ तरिका अवलम्बन गर्न खोज्नु ठीक कुरा हो, टिकटकमा समेत नाचेर विरोध व्यक्त गर्नु पनि ठीक छ । तर ती त कार्यक्रमका रूप मात्र हुन्, आर्थिक–सामाजिक रूपान्तरणका अन्तर्वस्तु होइनन् । भीषण जनसंघर्ष र वर्गसंघर्षको दिशामा नगई साफसुथरा तरिकाबाट मात्र परिवर्तन नै कथंकदाचित् भएछ भने पनि त्यो मुठीभर सुकिलामुकिलाका निम्ति मात्र हुनेछ ।
२०४७ पछिको मात्र कुरा गर्दा, माओवादी आन्दोलन एउटा वैकल्पिक राजनीति थियो । त्यो यसकारण कि त्यसले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको एजेन्डा बोकेर युद्धलाई त्यो प्राप्त गर्ने बाटो बनाएको थियो । संविधान बनाउने समयसम्म पुग्दा त्यस आन्दोलनको नेतृत्वको मुख्य डफ्फाले आत्मसमर्पण गर्दा पनि गणतन्त्रलगायतका सुधारहरू संस्थागत हुन पुगे । मधेस आन्दोलन पनि एउटा वैकल्पिक राजनीति थियो । त्यो सिंगो नेपालको समग्र परिवर्तनमा केन्द्रित नभए पनि वर्षौंदेखिको पहाडे हिन्दु उच्चजातीय सत्तालाई समावेशी बनाउन र मधेसी जनतालाई सम्मानित बनाउने एजेन्डा लिएर भीषण संघर्षमा व्यक्त भएको थियो । त्यो आंशिक रूपमा भए पनि वैकल्पिक राजनीति थियो । संविधान बनेसँगै त्यस आन्दोलनको नेतृत्व डफ्फाले एजेन्डालाई सत्तामा पुग्ने दाउपेचको सामग्रीको स्तरमा गिराउन पुग्यो । त्यसपछि भने मधेसवादी पार्टीहरूको राजनीति वैकल्पिक राजनीति रहेन, बरु चालु व्यवस्थाकै एउटा अंग बनिसकेको छ । त्यस्तै, नयाँ वैकल्पिक राजनीति जन्माउने भन्दै बाबुराम भट्टराईहरूले नाम नै नयाँ शक्ति राखेर पार्टी गठन गरे । माक्र्सवादको खण्डनका नाममा वैज्ञानिक मानवतावादको संश्लेषण गरेको प्रचार पनि गरे ।
तर नामसँगै उर्लिएको भीड संगठित रहिरहन सकेन किनभने अन्य संसद्वादी पार्टीको भन्दा आधारभूत रूपमै नयाँ र सही वैकल्पिक आर्थिक–राजनीतिक–सामाजिक रूपान्तरणको कार्यक्रम एवं संघर्षको नयाँ दिशा नयाँ शक्तिसँग थिएन । त्यसैको परिणाम हो— उपेन्द्र यादवहरूको उदारवाद र मनचिन्ते समाजवादमा बाबुराम भट्टराईहरूको विलय । भर्खरै माधव नेपालहरूले एमालेबाट अलग भएर नयाँ पार्टी गठन गरेका छन् । एमालेको कार्यदिशा जुन बहुदलीय जनवाद हो, त्यही कार्यदिशा बोकेर नयाँ पार्टी बनाइएको छ । किन नयाँ पार्टी भन्ने प्रश्नको उत्तर मुख्य गरी एउटै छ; अर्थात्, ओली निरंकुश भए, उनले टिक्न दिएनन् । अब कतिपयले यस पार्टीलाई पनि वैकल्पिक राजनीतिको पगरी गुथाउन बेर छैन तर माधव नेपालहरूको राजनीति कदापि वैकल्पिक होइन भन्ने स्पष्ट छ । बहुदलीय जनवादको कार्यदिशा पारित गरेको तीन वर्षपछि एमाले लगातारजसो शासनमा छ । यसको मतलब आफू शासनमा हुँदा त्यस पार्टीले बहुदलीय जनवादी कार्यक्रम नै लागू गर्दै आयो । करिब दुईतिहाइ बहुमतको ओली नेतृत्वको सरकार बन्दा त झन् लागू गर्ने नै भयो । होइन, बहुदलीय जनवाद लागू गर्नै पाएको छैन भन्ने हो भने त्यसलाई प्राप्त गर्ने त्यस पार्टीको बाटो नयाँ क्रान्ति हुनुपर्यो; चल्तीको चुनावबाहेक त अर्को बाटो त्यो पार्टीले देखाएको छैन । त्यसैले बहुदलीय जनवाद २०४७ देखि आजसम्मको व्यवस्था नै हो भन्ने कुरा अकाट्य रूपमा पुष्टि हुन्छ । यस प्रकार २०५१ देखि बहुदलीय जनवाद लागू गर्दाको परिणाम के भयो त ? सबैले देख्ने गरी कुरूप यथार्थ त छर्लंग नै छ । त्यही असफल कार्यक्रम बोक्ने माधव नेपालहरूको राजनीति वैकल्पिक कसरी होस् र !
के दुई पार्टी व्यवस्था भएको बेलायतका कन्जरभेटिभ पार्टी र लेबर पार्टी एकअर्काका निम्ति वैकल्पिक राजनीति बोकेका पार्टी हुन् ? बिलकुल होइनन् । अन्तर्वस्तु एउटै भएका पुँजीपति वर्गका अलगअलग गुटका पार्टी हुन् । निश्चित अवधिपछि पुँजीवादी व्यवस्थाबाट दिग्दार हुने जनताको आक्रोशलाई फरक पार्टीमा मत हाल्न लगाएर शान्त पार्न नै पुँजीपति वर्गले फरकफरक पार्टीको भ्रम सृजना गरेका हुन्, आधारभूत रूपमै अलग नीति अख्तियार गर्न फरक पार्टी बनाएका होइनन् । नेपालमा पनि दलाल पुँजीपतिका फरकफरक झुन्डहरूको प्रतिनिधित्व विभिन्न संसदीय पार्टीहरूले गरिरहेका छन् । उनीहरूको आधारभूत आर्थिक कार्यक्रम नवउदारवादमा आधारित छ, साम्राज्यवादसँग विमति होइन बरु त्यसको दलाली गर्ने नै छ । तब विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थाभित्रै रहेर कसैले वैकल्पिक राजनीति गर्छु भन्छ भने त्यो बिलकुल नमिल्ने कुरा हो । आजको नेपालमा वैकल्पिक राजनीतिका रूपमा अगाडि आउनका लागि कम्तीमा पाँच नयाँ समाधान र दिशा दिन सक्नुपर्छ ।
एक, आज नेपालको अर्थतन्त्र दलाल पुँजीवादी छ जसको नेतृत्व दलाल पुँजीपति वर्गले गरेको छ । यस वर्गले नेपालमा आधारभूत र बहुआयामिक उद्योगधन्दाको विकास हुनै दिन्न, केवल विदेशी सामानको बजारका रूपमा देशलाई थला पारेको छ । संसद्वादी पार्टीहरूले यही दलाल पुँजीवादलाई विकास गर्दै र साम्राज्यवादी नवउदारवादको कार्यक्रम लागू गर्दै समृद्ध अर्थतन्त्र बनाउने विचार बोकेका छन् जुन असम्भव छ । दलाल पुँजीपति वर्गलाई अगाडि लगाएर दलाल पुँजीवादी अर्थतन्त्रकै अन्त्य कसरी सम्भव हुन्छ ? कदापि सम्भव हुन्न । त्यसैले अबको वैकल्पिक राजनीतिले दलाल पुँजीवादी अर्थतन्त्रको विकल्पको समग्र मोडल अघि सार्नु सक्नुपर्छ । घनश्याम भुसाल प्रवृत्तिले भनेझैं ‘हामी दलाल पुँजीपति वर्गलाई राष्ट्रिय पुँजीपतिमा रूपान्तरण गरिदिन्छौं’ जस्ता असैद्धान्तिक व्याख्यानचाहिँ वैकल्पिक मोडल हुन सक्दैन ।
दुई, पुँजीवादी राजनीतिक प्रणालीका विभिन्न मोडलले व्यापक श्रमजीवी जनताको हितको प्रतिनिधित्व गर्न सकेनन् । विश्वव्यापी रूपमै पुँजीवादमा श्रमिक वर्ग आफ्नो हितका निम्ति निर्णय गर्न सक्षम हुनै सकेन । संसदीय व्यवस्थामा त जति लोकतन्त्रको कुरा गरे पनि आखिरमा शासन गर्ने ठूलो पुँजीपति वर्गले नै हो । कतिपयले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीलाई अचुक उपचारका रूपमा प्रचार गर्छन् तर त्यसले पनि समस्याको समाधान गर्न सक्दैन । त्यसले मुख्यत: व्यापक श्रमजीवी वर्गको समस्या समाधानमा भूमिका खेल्न सक्दैन । त्यसैले अबको वैकल्पिक राजनीतिले व्यापक श्रमजीवी जनता कसरी आफ्नाबारेमा आफैं निर्णय गर्न पाउने गरी सार्वभौमसत्तासम्पन्न हुन्छन् र प्रतिनिधिमूलक राज्यका अंगहरू कसरी यथार्थमैं जनताको सेवक बन्न बाध्य हुन्छन् भन्ने राजनीतिक प्रणालीको खाका प्रस्तुत गर्न सक्नुपर्ने हुन्छ ।
तीन, नेपाली समाज सधैंभरि विश्व सम्बन्धमा प्रताडित हुँदै आएको छ । वैकल्पिक राजनीतिले केवल देशभक्तिको कुरा गरेर मात्र पुग्दैन, बरु नेपाली समाज सधैंभरिको वैदेशिक प्रताडनाबाट स्थायी मुक्तितिर कसरी जान सक्छ भन्ने दीर्घकालीन नीति प्रस्तुत गर्न सक्नुपर्ने हुन्छ किनभने आजसम्मको राजनीति र कूटनीतिले वैदेशिक हस्तक्षेप एवं प्रताडनाको समस्यालाई हल गर्न सकेन, अझै सक्ने देखिँदैन । आर्थिक प्रगतिले यो समस्यालाई समाधान गर्छ भन्ने तर्क महत्त्वपूर्ण त छ तर आर्थिक प्रगति हुनेबित्तिकै वैदेशिक प्रताडना स्वत: घट्ने कुनै ग्यारेन्टी छैन । त्यसो त आर्थिक प्रगति कतिलाई मान्ने र आर्थिक प्रगति विश्वस्तरमा नभएसम्म हस्तक्षेप एवं अत्याचार स्वाभाविक रूपमा खपिरहनुपर्ने हो त भन्ने प्रश्न स्वत: जन्मिन्छ ।
चार, राजनीतिक प्रणालीमा पटकपटक हेरफेर भयो तर नेपाली समाजको जात व्यवस्था र पितृसत्तावादमा आधारित सामाजिक, आर्थिक र सांस्कृतिक संरचना एवं संस्कृतिमा आधारभूत परिवर्तन हुन सकेन । विद्यमान राजनीतिक व्यवस्थाबाट जात व्यवस्था, उत्पीडित राष्ट्र एवं समुदायमाथिको उत्पीडन र पितृसत्तात्मक उत्पीडन लगायतका समस्याहरू समाधान हुनुको साटो झन्झन् नयाँ रूपमा अनन्त लम्बिँदै जाने नै देखिएको छ । यसर्थ, वैकल्पिक राजनीतिले यी समस्यालाई समाधान गर्ने नयाँ खाका र बाटो प्रक्षेपण गर्न सक्नुपर्ने हुन्छ ।
पाँच, यस्ता नयाँ वैकल्पिक व्यवस्था र राजनीतिक लक्ष्य प्राप्त गर्न संघर्षको तरिका पनि ठोस रूपमा निरूपण गर्न सक्नुपर्ने हुन्छ । सबैलाई प्रस्ट छ, राज्य सशस्त्र बलमा टिकेको छ, जनता नि:शस्त्र छ । तब नयाँ वैकल्पिक राजनीतिक उद्देश्यप्राप्तिका नीति बलप्रयोगसहित वा नितान्त शान्तिपूर्ण कुन बाटो जाने, किटान गर्नैपर्छ । नितान्त शान्तिपूर्ण बाटो सम्भव छ भने कसरी ? तथ्य र विश्वक्रान्तिका अनुभवसहित भन्न सक्नुपर्छ । बलप्रयोगसहित हो भने आजको एक्काइसौं शताब्दीमा त्यो कसरी ? त्यसको पनि खाका प्रस्तुत गर्न सक्नैपर्छ । यस प्रकार, वैकल्पिक राजनीति भनेको नयाँ पार्टी होइन, बरु नयाँ दिशा र कार्यक्रम हो । नयाँ दिशा र कार्यक्रमबिनाको चालु संसद्वादभित्रकै एक थान पार्टीको वैकल्पिक राजनीतिको दाबी वा पगरी त केवल मतिभ्रम हो । कान्तिपुर अनलाईनबाट ।