सिरहा, ११ मंसिर। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको गोलबजार ४ चोहर्वामा तीन वटा सवारीसाधान एक आपसमा ठोकींदा नौं जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ गईरहेको मधेश प्रदेश १–००१ ख ०५६७ नम्वरका हाईसले ओभरटेक गर्ने क्रमममा अनियन्त्रीत भई पश्चिम दिशाबाट आईरहेको मधेश प्रदेश ०१–००६ ख ७७३६ नम्वरको हाईस र बा. २० च ७८४१ नम्वरको कारलाई ठक्कर दिंदा ९ जना घाइते भएका हुन्।

घाइतेमध्ये गोलबजारस्थित लाईफलङ्ग अस्पतालमा सात जना र वर्धमान अस्पतालमा दुई जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा धनगढीमाई ७ का २८ वर्षिय रामबाबु यादव, मिर्चैया २ का २१ वर्षिय सुरेश सदा, गोलबजार ४ का २८ वर्षिय कल्पना साह, मिर्चैया ११ का ४० वर्षिय रविन कुमार चौधरी, गोलबजार दुईका चन्द्रीका देवी ठाकुर, धनुषाका ३० वर्षिय सञ्जय गामी र भक्तपुरका ४८ वर्षिय पशुपतीराज गौतम घाइते भएका छन्। दुई जना चालकहरुको परिचय खुल्न सकेको छैन।
घाईतेमध्ये पशुपतीराज गौतमसहित दुईजनालाई थप उपचारको लागि विराटनगर लगिएको छ।
प्रत्यक्ष दर्शिका अनुसार पूर्वबाट पश्चमतर्फ अत्यधिक गतिमा गईरहेको मधेश प्रदेश १–००१ ख ०५६७ नम्वरको हाईसले ओभरटेक गर्ने क्रमममा पश्चिम दिशाबाट आईरहेका मधेश प्रदेश ०१–००६ ख ७७३६ नम्वरको हाईस र बा. २० च ७८४१ नम्वरको कारलाई ठक्करदिंदै आफै बिच सडकमै पल्टेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुदन केसीले जानकारी दिए।
दुर्घटनामा घाइतेहरु कुन कुन सवारीसाधनमा सवार थिए भन्ने अझै खुलि नसेको प्रहरीको भनाई छ। ठक्करदिने हाइसका चालकभने अझै सम्पर्कमा आईसकेको छैन। प्रहरीले उनको खोजी भईरहेको जनाएको छ।
घाइतेहरु सवैको अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ।
घटनाका सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
त्यसैगरी, सोही स्थानमा आजै अपरान्ह पश्चिमबाट आईरहेको बा.प्र. ०३–००१ ख ३९७६ नम्वरको ट्रकलाई ओरटेक गर्ने क्रममा बा. प्र. ०१–०३३ च ६०२५ नम्वरको कार ठोकिएको छ। प्रहरीले कार र ट्रकलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ।






















