विद्यानन्द राम

राजविराज, १२ मंसिर। दाइजो लेनदेन गर्नेलाई कारबाहीका लागि पर्याप्त कानुन र चेतनामूलक अभियानका बाबजुद सप्तरीमा दाइजोको निहुँमा हुने गरेको हिंसा र हत्या रोकिएको छैन । शिक्षा र चेतनास्तर बढेसँगै दाइजो उन्मूलन हुन सक्ने आकलन गरिए पनि अहिले शिक्षित र सम्पन्न परिवारमै दाइजोको कुरीति व्याप्त छ । दाइजो दिन नसक्ने परिवारमा जन्मिएकी छोरीका लागि त बिहे नै काल बनिरहेको छ ।

गरिबीले छोरीको बिहे गर्न सक्ने अवस्था नदेखेपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ भुतहीका संजीव यादव वैदेशिक रोजगारीका लागि मलेसिया पुगे । एक्ली छोरीको धुमधामले बिहे गर्ने उनको सपना थियो । त्यहाँ दुःख गरेर जोडेको २५ लाख रुपैयाँ खर्च गरेर गत असार ४ मा २१ वर्षकी छोरी दीपाकुमारी यादवको महादेवा गाउँपालिका–१ सोनराका दीपक यादवसँग परम्पराअनुसार धुमधामले विवाह गराए ।

तर, विवाह गरेको अढाइ महिना नबित्दै गत भदौ १४ मा दीपाले अनाहकमा ज्यान गुमाइन् । उनी बिरामी परेको भन्दै भदौ १४ मा गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो ।

दीपाको शरीरमा चोट र घाँटीमा नीलडाम देखिँदा सोही दिन पति दीपक र ससुरा पर्शुरामलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । दीपा र दीपकबीच भदौ १३ को राति नै विवाद हुँदा भोलिपल्ट बिहान मुखमुखै लाग्दा रिस उठेर सलले घाँटीमा कस्दा दीपाको ज्यान गएको दीपकले ‘कन्फेसन’ गरेका थिए । घटना लुकाउन मृत्यु भइसकेकी दीपालाई सोही दिन दिउँसो अस्पताल ल्याएका थिए । तर, त्यही बेला माइती पक्ष अस्पताल पुगेपछि घटना बाहिरिएको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको बताए । ‘सप्तरी जिल्ला अदालतले दीपाका ससुरा पर्शुरामलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ भने दीपक पुर्पक्षका लागि कारागार चलान भएका छन्,’ उनले भने ।

मृतकका ठूलो बुवा भगवतीप्रसाद यादवका अनुसार बिहेका बेला ५० हजार बाँकी रहेको दाइजो माग गर्दै दीपालाई पति र ससुराले मानसिक र शारीरिक यातना दिँदै आएका थिए । तर, बिहेमा ११ लाख रुपैयाँ दाइजो दिएर कूल २५ लाख रुपैयाँ खर्च भइसक्दा अभावका कारण थप रकम दिन ढिलाइ भएपछि दीपाको हत्या गरेको प्रहरीमा दिएको जाहेरीमा छ । Dowry makes daughters-in-law vulnerable in educated families of Madheshमृतक सप्तरी बलान बिहुल गाउँपालिका–२ पथराहाकी २० वर्षीया कृषलाकुमारी यादव

गत असोज २२ मा बलान बिहुल गाउँपालिका–२ पथराहाकी २० वर्षीया कृषलाकुमारी यादव आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला गरेकी थिइन् । उनको पनि गत वैशाख २५ मा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । १० लाख नगद, आधा तोला सुन, १ लाख ६० हजारको फर्निचर र ८० हजारको लत्ताकपडा गरी १७ लाख रुपैयाँ खर्च गरेर सोही गाउँपालिका–१ मल्हनियाँ छोटकी टोलका राजकुमार यादवले धुमधामसाथ छोरीको बिहे गराएका थिए । तर, बिहेको ५ महिना नबित्दै पति खगेन्द्र यादव र सुसुरा मदन यादव मिलेर छोरीलाई झुण्डियाइदिएको राजकुमारको आरोप छ । ‘त्यो राति नै घटना भए पनि हामीलाई भोलिपल्ट बिहान ४ बजे मात्रै छिमेकीमार्फत खबर गरियो,’ राजकुमारले भने, ‘झुण्डिएको अवस्थामा कृषलालाई हेर्दा खुट्टाले खाटमा छोएको थियो ।’

दाइजोमा एउटा गाई दिन बाँकी रहेको निहुँमा कृषलाको हत्या गरेको राजकुमारको आरोपपछि इलाका प्रहरी कार्यालय कडरबोनाले खगेन्द्र र मदनलाई पक्राउ गरेको थियो । तर, उनको पोस्टमार्टम रिपोर्ट आउनुअघि नै खगेन्द्र र मदनलाई छाडिएको थियो । इलाका प्रहरी कडरबोनाका इन्स्पेक्टर गजेन्द्र रायाले दुवै जनालाई किरिया गर्नका लागि छाडिएको बताए । ‘तत्काललाई गाउँपालिका अध्यक्षज्यूको जिम्मामा दुवै जनालाई छाड्यौं तर अनुसन्धान रोकिएको छैन,’ उनले भने, ‘आइतबार मात्रै पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टमा नर्मलै छ तर थप अनुसन्धान भइरहेको छ ।’

दाइजोका कारण नवविवाहिता बुहारीको ज्यान गएको घटना यहाँका निम्ति नयाँ भने होइन । दाइजोकै निहुँमा परिवारै मिलेर बुहारीमाथि हिंसा गरेका घटना पनि कम छैनन् । फेसबुकबाट प्रेम सम्बन्ध जोडिएको तीन वर्षपछि अदालतमा बिहे गरेकी सप्तरीको कञ्चनरूप नगरपालिका–७ धरमपुरकी २८ वर्षकी सञ्जिता साह अहिले परिवारबाट हिंसा खेप्न बाध्य छिन् । सञ्जिताले २०८१ जेठ ९ मा जिल्लाको रूपनी गाउँपालिका–३ मकरी टोलका ३० वर्षीय सन्देश साहसँग बिहे गरेकी थिइन् । सन्देश पर्साको एक निजी कम्पनीमा इन्जिनियर पदमा कार्यरत रहँदा उनीहरू त्यहीको जिल्ला अदालत पुगेर बिहे गरेका थिए ।

बिहेको करिब एक वर्ष उनीहरूको सम्बन्ध राम्रै चल्यो । तर, सन्देशका बुवाआमाले थाहा पाएपछि दाइजोबापत मागेको १० तोला सुन, १५ लाख नगद र एउटा चारपाङ्ग्रे गाडी दिन नसक्दा सञ्जिता घर न घाटको भएकी छन् भने उनीमाथि परिवारै मिलेर हिंसा गरिरहेका छन् ।

ससुरा धर्मदेव साह र सासु किरणकुमारी साहले अदालतमा बिहे गरेको थाहा पाएपछि सामाजिक रूपमा पनि विवाह गर्नुपर्छ भन्दै कुरा अघि बढाएको सञ्जिताले बताइन् । ‘मेरो बुवा (रामेश्वर साह तेली) लाई फोन गरेर बोलाई दाइजो माग्नुभयो तर मलाई मञ्जुर छैन,’ उनले भनिन्, ‘दाइजोको कुरा थियो भने पहिला नै भन्नु पर्थ्यो, मसँग विवाह किन गर्‍यौं प्रश्न गर्दा त्यसो होइन भनेर सन्देशले जवाफ फर्काए पनि त्यहीबाट हाम्रो सम्बन्ध बिगि्रँदै बोलचालसम्म बन्द हुन पुग्यो ।’ सिन्धुलीको एक विद्यालयमा नर्स पदमा कार्यरत रहेकी सञ्जिताले दाइजोले बिगारेको सम्बन्ध सुधार्न ६ महिनादेखि न्याय गुहार्न बाध्य छिन् ।

सम्बन्ध सुध्रिने आशले उनी कात्तिक १८ मा ससुराली पनि पुगिन् । तर, सञ्जितालाई घरमा पस्नै नदिएपछि उनी अलपत्र परेकी छन् । घरमा पुग्दा गाउँलेको सहयोगमा उनलाई दलिनमा बस्न लगाए पनि त्यो दिन भोकभोकै रात काटिन् । भोलिपल्ट मात्रै छिमेकीले ल्याइदिएको खाना उनले खाएकी थिइन् । दबाबपछि दोस्रो दिनदेखि खाना ल्याइदिए पनि घरमा पस्न नदिएको उनले गुनासो गरिन् ।

‘जीवनभर साथ निभाउने बाचा गरेका पतिले पारिवारिक दबाबमा परेर बोली, व्यवहार फेर्दा घर न घाटको भएकी छु,’ उनले भनिन्, ‘१० दिन दलिनमै बसेँ, त्यहाँबाट निकाल्न पनि परिवारै मिलेर शारीरिक र मानसिक यातना दिन्थे ।’ असुरक्षा बढ्न थालेपछि त्यहाँबाट निस्किन बाध्य भएको सञ्जिताले बताइन् । ‘अझै अलपत्र अवस्थामा छु,’ उनले थपिन्, ‘के गर्ने नगर्ने भइसकेकी छु ।’

पछिल्लो पटक कात्तिक २७ मा सञ्जिताले घरेलु हिंसाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । त्यसअघि पनि सञ्जिताले पति, ससुरा र सासुविरुद्ध सप्तरी जिल्ला अदालतमा घरेलु हिंसासम्बन्धी मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा २०८२ असार २३ मा सुनुवाइ गर्दै न्यायाधीश मोहनबहादुर अधिकारीको एकल इजलाशले अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको थियो ।

Dowry makes daughters-in-law vulnerable in educated families of Madheshमृतक सप्तरीको महादेवा गाउँपालिका–१ सोनराकी २१ वर्षकी दीपाकुमारी यादव ।

घरेलु हिंसा (कसुर सजाय ऐन) २०६६ को दफा ६ बमोजिम जारी भएको आदेशमा सञ्जितालाई सुरक्षित रूपमा घरमा बस्न, खान र लाउन दिनु तथा कुटपिट तथा गालीबेइज्जत नगर्न भनिएको छ । तर, उक्त आदेश पनि कार्यान्वयन नभएको सञ्जिताको गुनासो छ ।

सामुदायिक विद्यालयका शिक्षकसमेत रहेका सञ्जिताका ससुरा धर्मदेवले दाइजोको विषय नरहेको बताउँछन् । ‘उनको आरोप निराधर हो । मैले दाइजो मागेको वा हिंसा गरेको छैन,’ उनले भने, ‘छोरा र बुहारीबीच नै विवाद छ । उनीहरू मिलेर नआउँदा समस्या सिर्जना भएको छ ।’

पति सन्देशले सञ्जिताको व्यवहार बदलिएको देखेर सँगै बस्न नचाहेको बताए । ‘सुरुमा व्यवहार राम्रै थियो, पछि व्यवहार बदलिएको देखेर उनीसँग नबस्ने निर्णय लिइसकेको छु,’ उनले भने । डीएसपी पुरीले सञ्जिताको मागअनुसार मिलापत्रको प्रयास भइरहेको बताए । ‘सन्देश सम्पर्कमै नआउँदा समाधान हुन सकेको छैन,’ उनले भने, ‘सन्देशका बुवा सम्पर्कमा हुनुहुन्छ, उहाँले ती विषयमा १० दिनमा समाधान गरिसक्ने बताउनुभएको छ ।’

प्रहरीमा उजुरीको चाङ

जिल्ला प्रहरीमा तीन वर्षयता विवाहसम्बन्धी कसूर (लेनदेन), विवाहसम्बन्धी कसूर र घरेलु हिंसाका गरी झण्डै ३ सय मुद्दा दर्ता छन् । आर्थिक वर्ष २०७९/०८० देखि ०८१/०८२ सम्ममा विवाहसम्बन्धी कसूर (लेनदेन) का ६, विवाहसम्बन्धी कसूरका एउटा र घरेलु हिंसाका मात्रै २ सय ८७ वटा मुद्दा दर्ता भएका छन् ।

विवाहसम्बन्धी कसूर (लेनदेन)का ६ वटा मुद्दामा अनुसन्धानको हद म्यादभित्र २ जना मात्रै पक्राउ परेका छन् । आर्थिक वर्ष ०८१/०८२ मा विवाहसम्बन्धी कसूरका एउटा मुद्दामा पनि अनुसन्धानको हद म्यादभित्र कोही पक्राउ परेका छैनन् । ‘घटना थाहा पाएको ३० दिनभित्र जाहेरी गर्नुपर्ने र ३ महिनाभित्र अनुसन्धान गरेर अदालतमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ,’ जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुरीले भने, ‘मुद्दा बुझाइसकेपछि अन्य आरोपी अदालतमा हाजिर भएको हुन सक्छ ।’

प्रहरीमा २०७९/०८० मा दर्ता भएका घरेलु हिंसाका १ सय ५ मध्ये ८५ वटा मुद्दा प्रहरीको पहलमा फर्स्योट भएको उनले बताए । ८ वटा मुद्दा अन्य निकायमा पुगेका छन् भने १२ जना सम्पर्कमा नआएको प्र्रहरीको तथ्यांक छ ।

०८०/०८१ मा पनि १ सय ५६ वटा मुद्दा दर्ता भएका थिए । त्यसमा ९२ वटा फर्स्योट हुँदा ३९ मुद्दा अझै चलिरहेका छन् । १५ वटा मुद्दा भने अन्य निकायमा जाँदा १० जना सम्पर्कमा आएका छैनन् । ०८१/०८२ मा भने घरेलु हिंसाका मुद्दा कम आएको प्रहरीको तथ्यांक छ । उक्त वर्ष २६ मुद्दा दर्ता हुँदा ११ वटा फर्स्योट भएका छन् । अहिले १४ मुद्दा चलिरहँदा एउटा मुद्दा अन्य निकायमा पुगेको छ ।

प्रहरीबाहेक घरेलु हिंसाका मुद्दा स्थानीय तह, अदालत र राष्ट्रिय महिला आयोगले पनि हेर्ने गर्छन् । प्रहरीमा आएका घरेलु हिंसाका मुद्दामा पीडितको माग अनुसार मिलापत्र गरेर पठाउने गरेको डीएसपी पुरी बताउँछन् । ‘तर, मिलापत्र हुन नसकेको वा पीडितको चाहनाअनुसार अनुसन्धानको फाइलसहित अदालत वा अन्य निकायमा पठाउँदै आएका छौं,’ उनले भने ।

महादेवा गाउँपालिकाकी उपाध्यक्षसमेत रहेकी न्यायिक समितिकी संयोजक अर्चुनाकुमारी यादवले विवाहपछि नागरिकता नबनाइदिने र खान बस्न नदिइने जस्ता घरेलु हिंसाका घटना समितिमा आउने गरेको बताइन् । ‘अहिलेसम्म त्यस्ता ५ वटा मुद्दा आउँदा दुईवटा समाधान गरिरहेका छौं,’ उनले भनिन्, ‘मिलापत्रमा समस्या देखिएका दुईवटा मुद्दा अदालत पठाइसकेका छौं । एउटा अझै चलिरहेको छ ।’

सामाजिक अगुवा भोला पासवानले दाइजोका घटना राजनीतिक र सामाजिक स्तरमै छलफलबाट मिलाउन खोज्ने प्रवृत्तिले पनि कुरीति निर्मूल हुन नसकेको बताए । ‘दाइजो लेनदेन गलत हो भन्ने समाजमा कमै छन् । पीडितहरू कानुनी बाटोमा जान खोज्दा पनि निकै दबाब र तनाब खेप्नुपर्ने अवस्था छ,’ उनले भने, ‘राजनीतिक र सामाजिक दबाबका बाबजुद प्रहरीसम्म पुग्नेलाई पनि सहज रूपमा न्याय पाउन सक्ने अवस्था छैन ।’ दाइजो लेनदेन नियन्त्रणका लागि स्थानीयस्तरबाटै सशक्त अभियानको खाँचो रहेको उनले बताए।

(कान्तिपुरबाट)