गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ११ भदौ । प्रदेशनम्बर २ का आन्तरिक मामिलातथा सञ्चार मन्त्री भरत प्रसाद साहले पहुँचको आधारमा विज्ञापन दिने कार्यलाई निरुत्साहित गर्ने बताएका छन् । मन्त्री साहले सञ्चार संस्थाहरुलाई वर्गीकरण गरेर त्यसकै आधारमा लोक कल्याण्कारी विज्ञापन दिने बताएका हुन् ।
महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देशको पाँचौ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा आयोजित ‘पत्रकारितामा महिलाको अवसर र चुनौती’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री साहले सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन मन्त्रालय गम्भिर रहेको बताए । सामाजिक सञ्जालको दुरुपयोगका कारण सञ्चार जगतको महत्व घट्नेतर्फ चिन्ता व्यक्तगर्दै मन्त्री साहले लेखन सम्बन्धी प्रशिक्षण तथा विभिन्न तालिमहरुको व्यवस्था गर्नुपर्ने बताए ।
पितृसतात्मक देशका केही महिलाहरुले गरेको प्रगती सकारात्मक रहेको बताउँदै उनले अँझै पनि समग्र रुपमा महिलाहरु मुलधारबाट वञ्चित रहेको विश्लेषण गरे । प्रदेश २ मा घुम्टो प्रथा, बोक्सी प्रथा जस्ता विकृतिहरुले पनि महिलाहरुलाई मुलधारमा ल्याउनबाट वञ्चित गराएको हुँदा सञ्चार माध्यममार्फत समाजमा विद्यमान विकृतिहरुबारे नागरिकलाई जागरुक बनाउनुपर्नेमा उनले जोड दिए ।
राज्यको चौथो अङ्ग मानिएको पत्रकारिताबाट समाजको रुपान्तरणका गर्ने चेष्टाका साथै उत्पिडीत जनताका आवाजहरुलाई राज्यको निकायमा पु¥याउने कार्यको उनले सह्राना गरे ।
गुणस्तर राम्रो भएर पनि चाकडी र चाप्लुसीनगर्ने सञ्चार गृह विज्ञापन नपाएर धरापमा पर्ने अवस्था अहिले पनि यथावत रहेको हुँदा आफ्नो कार्यकालमा यस्तो अवस्थाको अन्त्यकालागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य भिमा यादव, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।