•   अमरेन्द्र यादव


विश्वमा कोभिड–१९ महामारीबाट आक्रान्त बनेको दुई वर्ष पुग्न लागेको छ । नेपाल यसको चपेटामा परेको पनि साढे एक वर्षभन्दा बढी भएको छ । संसारका विभिन्न देशमा महामारीको तेस्रो लहर चलिरहेको छ भने नेपालमा दोस्रो लहर सकिएको छैन । अत्यन्तै खतरनाक मानिएको ‘डेल्टा भेरियन्ट’का साथ तेस्रो लहर मध्य असोजतिर नेपालमा सुरु हुने स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएका छन् ।
कोरोना भाइरसले हालसम्म २० करोडभन्दा बढी मानिस पीडित भइसकेका छन् भने ४३ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपालमै सात लाखभन्दा बढी मानिस सङ्क्रमित बनिसकेका छन् भने १० हजारभन्दा बढीले मृत्युवरण गरिसकेका छन् । २०७७ सालको फागुन–चैततिर यो महामारी नेपाल प्रवेश गर्दा दुई–तीन महिनामै यो पूर्ण रूपमा नियन्त्रणमा आउने वा हराएर जाने अनुमान गरिएको थियो तर निकट भविष्यमै यसको अन्त्य हुने कुनै छाँटकाँट देखिँदैन ।JVM SCHOOL 333 maunt school 333

सहज हुँदै खोप
विश्वका वैज्ञानिक तथा स्वास्थ्य विशेषज्ञले कोरोना भाइरस सधैँका लागि रहिरहने र यसका अनेकौँ लहर आउने चेतावनी दिएका छन् । सुरुतिर यो भाइरसले विश्व महामारीको रूप लिने र ‘हर्ड इम्युनिटी’ अर्थात् सामूहिक प्रतिरक्षा विकास हुने अनुमान गरिएको थियो तर कोरोना सङ्क्रमित भएर निको भएका व्यक्ति फेरि सङ्क्रमित हुने र त्यसमध्ये केहीको ज्यानसमेत जान थालेपछि सामूहिक प्रतिरक्षा निर्माण हुने आशा र अनुमान निराशामा परिणत हुँदै गएको छ । तसर्थ यस महामारीबाट मानव जातिलाई बचाउने एक मात्र दीर्घकालीन उपाय खोप नै देखिएको छ । सामूहिक प्रतिरक्षा प्रणाली निर्माण भएर यस महामारीलाई परास्त गर्ने सम्भावना टर्दै गएपछि खोप लगाएर कोरोना भाइरससँगै बाँच्नुपर्ने नियति मानव जातिले स्वीकार्नुपर्ने देखिन्छ । नेपाल सरकार, सम्बन्धित विज्ञ र आमनागरिकले पनि यो कटु यथार्थलाई बिस्तारै आत्मसात् गर्न थालेका छन् ।
कोरोना भाइरसले विश्व महामारीको रूप लिएलगत्तै गत वर्षदेखि नै वैज्ञानिक यसविरुद्धको खोप अनुसन्धानमा लागे । महिनौँको प्रयासपछि उनीहरू २०७७ सालको पुस÷माघतिर खोप निर्माण गर्न सफल भए । अहिले विश्वमा आठभन्दा धेरैखाले खोप लगाइँदै आएको छ । अन्य दर्जनौँ खोप परीक्षणको विभिन्न चरणमा छन् । यति मात्रै होइन, खोपको विकल्प र सङ्क्रमितको उपचारका लागि औषधिको पनि परीक्षण÷अनुसन्धान भइरहेको छ ।
गत माघमा भारत सरकारले सिरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाललाई अनुदान दियो । त्यसपछि सरकारले माघ १४ गतेदेखि देशैभरि खोप लगाउन सुरु गरेको थियो । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मीलाई खोप उपलब्ध गराइयो । लगत्तै सरकारले २० लाख मात्रा खोप खरिद गर्न भारतको सिरम इन्स्टिच्युटसँग सम्झौता ग¥यो । त्यसमध्ये १० लाख मात्रा खोप नेपाललाई आपूर्ति गरे पनि बाँकी १० लाख मात्रा अझै दिन सकेको छैन । महामारीको दोस्रो लहरले गत वैशाख र जेठमा भारतमा ताण्डव मच्चाएपछि त्यहाँको सरकारले खोप उत्पादक कम्पनीमाथि खोप निर्यातमा प्रतिबन्ध लगायो । फलस्वरूप सिरम इन्स्टिच्युटले बाँकी १० लाख मात्रा खोप हालसम्म नेपाललाई आपूर्ति गर्न सकेको छैन । त्यसैले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका १४ लाखभन्दा बढी ज्येष्ठ नागरिक खोपको दोस्रो मात्रा लगाउनबाट लामो समयसम्म वञ्चित रहे । जापान सरकारले कोभिसिल्डसँग मिल्दोजुल्दो एस्ट्राजेनेका खोप नेपाललाई अनुदान दिएपछि कोभिसिल्डको दोस्रो मात्राबाट वञ्चित नागरिकलाई केही दिन अघिदेखि एस्ट्राजेनेका खोप दिन थालिएको छ ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले कोरोनाविरुद्धको खोप भिœयाउने प्रयास सुरु गरेको थियो । त्यस प्रयासलाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले गति दिएको छ । प्रधानमन्त्री नियुक्त भएदेखि नै देउवाले सबै नागरिकलाई खोप लगाउनु आफ्नो सरकारको प्राथमिकता रहेको दोहो¥याइरहनुभएको छ । अमेरिकी सरकारले जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख मात्रा खोप अनुदान दिएपछि प्रधानमन्त्री देउवाले त्यही खोपबाट नयाँ खोप अभियान आरम्भ गर्नुभयो । उहाँले विभिन्न खोप केन्द्रको निरीक्षण पनि गर्नुभयो । असार १५ गतेदेखि साउन १५ गतेसम्म मात्रै भेरोसेल खोपको ३० लाख मात्रा र जोन्सन एन्ड जोन्सनको खोप १५ लाख मात्रा नेपाल आइसकेको छ । यी दुई कम्पनीका खोपका साथै जापान सरकारले अनुदान दिएको एस्ट्राजेनेका खोप हाल दशैभरिका आमनागरिकलाई
दिइँदै छ ।

सवा पाँच करोड खोप ल्याइने
गएको साउन २८ गते प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म एक करोड आठ लाख ६० हजार १७० मात्रा खोप नेपाल भित्रिएको र तीन करोड ३६ लाख मात्रा खोप आयात गर्ने प्रक्रियामा रहेको बताउनुभयो । स्वास्थ्य राज्यमन्त्रीका अनुसार आउँदो असोजभित्र एक करोड आठ लाख मात्रा खोप आयात गरिने छ । यस्तै माघ मसान्तभित्र तीन करोड २३ लाख मात्रा थप खोप नेपाललाई प्राप्त हुने निश्चित छ । राज्यमन्त्रीकै भनाइअनुसार आउँदो माघसम्म कम्तीमा पाँच करोड २३ लाख मात्रा खोप नेपाल आइपुग्ने छ । देशैभरि हालसम्म ४५ लाख ७० हजारभन्दा बढी जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २८ लाख ८८ हजारभन्दा बढी जनाले दुवै मात्रा लगाएका छन् ।
सरकारले कोरोना नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्दै आएको छ । साउन २५ गतेदेखि खोप सप्ताह चलिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २३ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई मास्क लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘तपाईंको मास्क खोइ’ अभियान सञ्चालन ग¥यो । गएको वैशाख–जेठमा कोरोनाको दोस्रो लहर उत्कर्षमा पुग्दा दैनिक दुई सयभन्दा बढी मानिसको ज्यान जाने गथ्र्याे भने प्रत्येक दिन नौ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित हुने गर्थे । त्यस अवधिमा कोरोनाबाट छ हजार पाँच सयभन्दा बढी नागरिकले ज्यान गुमाए ।

किशोरकिशोरीलाई ६० लाख खोप
मुलुकमा आजको मितिसम्म १८ वर्षमाथिका मानिसलाई मात्रै कोभिड–१९ विरुद्धको खोप दिइँदै छ । अमेरिकी र युरोपेली मुलुकले १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाउँदै आएका छन् । नेपालमा भने यस उमेर समूहका व्यक्तिलाई खोप लगाउने कुनै तयारी छैन । डेल्टा भेरियन्टका साथ आउने तेस्रो लहर झनै सङ्क्रामक हुने र किशोरकिशोरी तथा बालबालिकालाई समेत प्रभावित गर्ने हुँदा १८ वर्षमुनिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउन ढिलो भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयकै केही हप्ताअघिको तथ्याङ्कअनुसार कोरोना भाइरसबाट हालसम्म नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ५६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । मृत्युदर न्यून भए पनि सरकारले यस उमेर समूहका व्यक्तिलाई पनि खोप दिने व्यवस्था तत्काल गर्नुपर्दछ । प्रतिनिधि सभाको साउन २८ गतेकै बैठकमा राज्यमन्त्री श्रेष्ठले किशोरकिशोरीलाई खोप दिनका लागि ६० लाख फाइजर खोप आयात गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
देशैभरि खोप लगाउने अभियान क्रमिक रूपमा तीव्र हुँदै गएको छ । अब खोपको अभाव पनि छैन । विभिन्न पेसा र क्षेत्रका नागरिकले खोप लगाउन थालेका छन् । यातायात मजदुर, होटल र पर्यटन क्षेत्रका मानिस, शिक्षक र प्रवेशपत्रका आधारमा विश्वविद्यालयका विद्यार्थीले समेत खोप पाउन थालेका छन् तर १८ वर्षमाथिका सबै नेपाली नागरिकका लागि खोप सहज भएको छैन । एकातिर १२ वर्षदेखि १८ वर्षका किशोरकिशोरीका लागि खोप अत्यावश्यक भइसकेको छ । खोप अभियानका क्रममा र खोप केन्द्रहरूमा केही बेथिति र कमजोरी स्पष्ट रूपमै देखिएका छन् । खोप केन्द्रहरूमा सेवाग्राहीको अस्तव्यस्त भीड अत्यन्तै डरलाग्दो र निन्दनीय छ । सामाजिक दूरी कायम गरेर मात्र खोप दिने प्रबन्ध सम्बन्धित सरकारी निकायले गर्नुपर्दछ । व्यक्तिगत सम्बन्ध, पहुँच र प्रभावका आधारमा खोप लगाउने घटना पनि प्रशस्तै देखिएका छन् । यस्तो विकृति सुधार गर्न सकिए निर्धारित उमेर समूहका मात्र नभई १८ वर्षमाथिका सबै नागरिकले सहज र न्यायोचित रूपमा खोप लगाउने वातावरण बन्न सक्छ ।                                                                                          गोरखापत्र अनलाईनबाट ।

indira jal 333