लाग्छ, समय अलिक ढिलो गरी बितिरहेको छ । सत्तामा बस्नेहरूका लागि आमजिन्दगीको वास्ता कुन तहसम्मको हुनसक्ने रहेछ र नागरिकले कसरी शासकहरूसँग आफ्नो राग–द्वेष साट्न, अगाडि बढ्न सक्दा रहेछन् भन्ने ज्वलन्त उदाहरणमध्येको एउटा बीभत्स प्रतिनिधि घटना हिरोसिमा र नागासाकीमा मच्चाइएको ताण्डव हो भन्न सकिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा बीसौँ शताब्दीमा चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरू भएका हुन् तर भयावह हुने गरी विज्ञान र प्रविधिको चरम दुरुपयोग गरिएको उदाहरण हो– हिरोसिमा र नागासाकी घटना । परमाणु बमको कहरले त्यहाँ प्रत्यक्ष पैदा गरेको अकल्पनीय भोगाइसम्म पुग्दा त्यस घटनाको पृष्ठभूमिलाई एक पटक विचार गर्न आवश्यक देखिन्छ ।

सन् १९१४ मा अस्ट्रियाका फ्रान्ज फर्डिनान्डको सर्वियामा भएको हत्याबाट प्रथम विश्वयुद्धको बीजारोपण भयो । हुन त विभिन्न देशमा हुर्कंदै गरेको अन्ध राष्ट्रवाद, साम्राज्यवाद, देशहरूबीच गुट तथा समूहको निर्माण र सैन्यवादका कारणले भुसको आगोको ताप छोपिएर रहेकोजस्तो थुप्रै कारण भए तापनि उक्त हत्याले आगोमा घिउ थप्ने काम गरेको हो । यो घटनाले सम्पूर्ण युरोपमा अस्थिरता निम्त्यायो । पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८)ले युरोपमा पैदा गरेको अस्थिरताले अन्तर्राष्ट्रिय द्वन्द्व सिर्जना गरेको थियो र त्यसको दुई दशकपछि अर्को विश्वयुद्ध सुरु गरायो । प्रथम विश्वयुद्धलाई अन्त्य गर्न महìवपूर्ण भूमिका निर्वाह गरेको सन् १९१९ को भर्सेलिस सन्धिको उल्लङ्घन गर्दै आपूmलाई सर्वोच्च नेताका रूपमा उभ्याउँदै जर्मनीका हिटलर अगाडि बढ्दै गर्दा सेम्टेम्बर १, १९३९ मा हिटलरले पोल्यान्डमाथि आक्रमण गरे । त्यसको दुई दिनपछि बेलायत र फ्रान्सले हिटलरको नाजी शासक जर्मनीसित युद्धको घोषणा गरे र दोस्रो विश्वयुद्धको सुरुवात भयो । त्यति नै बेला जापानी सैन्य साम्राज्यवाद पनि बेरोकटोक अगाडि बढिरहेको थियो । यद्यपि, अगाडि सन् १९३९ मै हिटलर र सोभियत सङ्घका जोसेफ स्टालिनले एकअर्काको देशमा आक्रमण नगर्ने सन्धि गरेका थिए । त्यस कुराले बेलायत र फ्रान्सलाई सशङ्कित बनाएको थियो । पोल्यान्डमाथि आक्रमण गर्ने हिटलरको योजना पहिलादेखि नै थियो । बेलायत र फ्रान्सले पनि त्यस्तै परिहाले सैन्य सहयोग गर्ने वचन पोल्यान्डलाई दिएका थिए ।

विश्वयुद्धको सुरुवाती वर्षमा संयुक्तराज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेकाले युद्धमा प्रत्यक्ष सामेल भएको थिएन । दोस्रो विश्वयुद्ध अगाडि बढ्दै जाँदा युरोपमा हिटलर नेतृत्वको नाजी जर्मनी केन्द्रबिन्दुमा रहन पुग्दा जर्मनीद्वारा अस्ट्रिया, तत्कालीन चेकोस्लोभाकिया, बेल्जियम, डेनमार्क र नर्वे आदि देशहरूमा कब्जा तथा आक्रमणका प्रयासहरू भए । त्यसैगरी एसिया महादेशमा ‘एसिया एसियालीहरूको’ भन्ने भावना जागृत भइरहेको अवस्था थियो भने त्यो समयमा जापान एसियाको महाशक्ति राष्ट्रका रूपमा रहेको थियो । आफ्नो साम्राज्य र सैन्य शक्ति बढाउँदै लगेको प्रतीत भइरहेको अवस्थामा दोस्रो विश्वयुद्धमा प्रत्यक्ष संलग्न नदेखिएको अमेरिकाको हवाई राज्यको पर्लहार्बरमा एक्कासि र कल्पनै नगरिएको जापानी आक्रमणपछि दोस्रो विश्वयुद्धमा नयाँ र खतरनाक मोड आएको हो । अमेरिकाको शक्तिशाली जल तथा वायु सेनालाई ध्वस्त पारेर एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्ने हेतुले जापानले डिसेम्बर ७, १९४१ आइतबारका दिन अमेरिकाको हवाई राज्यको पर्लहार्बरमा सेनाको सैन्य अखाडामा अप्रत्यासित र निर्मम आक्रमण गरेको खुल्न आउँछ ।

पर्लहार्बर हवाईराज्यको होनुलुलु सहरको नजिकैको ठाउँ हो । यहाँ अमेरिकी सेनाका ठूलाठूला जङ्गी युद्धपोतहरू राखिएको थियो । लाखौँ ग्यालन तेल भरिएका जङ्गी जहाजहरू पनि राखिएका थिए । आक्रमणमा ती तेलवाहक जङ्गी जहाजहरू समुद्रमा डुबाइएका थिए । त्यहाँ तेल निस्किरहेको अहिले पनि देख्न सकिन्छ । पर्लहार्बर आक्रमणको समयमा शनिबारको साँझ नै उल्लेख्य सङ्ख्यामा सैनिक होनुलुलुका सहरका रात्रिकालीन मनोरञ्जन केन्द्रमा गएका थिए भनिन्छ । अपेक्षाकृत कम सैनिक रहेको र कल्पनै नगरिएको अवस्था परेको हुँदा पर्लहार्बरमा ठूलो सङ्ख्यामा हताहती भएको थियो । लगभग दुई हजार चार सयको मृत्यु र एक हजार जना घाइते भएका थिए । त्यसलगत्तै एक दिनपछि डिसेम्बर ८ का दिन संयुक्तराज्य अमेरिकाका राष्ट्रपति फ्रेङ्कलिन रुजवेल्टले पनि जापानविरुद्ध युद्धको शङ्खनाद गरे । विश्लेषकहरूले पर्लहार्बर घटना नै परमाणु बमको निर्माण र त्यसको ध्वंसात्मक प्रयोगको कारक र सुरुवात रहेको बताएका छन् ।

पर्लहार्बर आक्रमणपछि राष्ट्रपति रुजवेल्टको निर्देशनमा अमेरिकाले बम बनाउने कामका लागि अति गोप्य रूपमा म्यानहटन परियोजना सुरु ग¥यो । वास्तवमा म्यानहटन परियोजना भनेको दोस्रो विश्वयुद्धमा प्रयोग गर्नका लागि चाहिने परमाणु बमको विकास र निर्माणको साङ्केतिक नाम थियो । यो काम वास्तवमा सन् १९३० देखि नै जर्मन वैज्ञानिकहरूले त्यस्तै खालको बमको विकास र निर्माणमा लागेको भन्ने सुनिएको र त्यसलाई परिआएको बखतमा जवाफी कारबाहीका लागि आपूmलाई तयारी अवस्थामा राख्नका लागि गरिएको काम थियो । म्यानहटन परियोजनाका लागि अमेरिकी राष्ट्रपति रुजबेल्टले डिसेम्बर २८, १९४२ मा स्वीकृति दिएका थिए । त्यस महाìवाकाङ्क्षी कार्यका लागि तमाम वैज्ञानिकहरू र सैन्य अधिकृतहरूलाई परमाणु बम बनाउने काममा लगाइएको थियो । यो यति गोप्य परियोजना थियो कि राष्ट्रपति रुजबेल्टले आफ्ना उपराष्ट्रपति ह्यारी ट्रुम्यानसम्मलाई पनि थाहा दिइएको थिएन ।

यसक्रममा युरेनियम–२३५ र प्लुटोनियम–२३९ प्रयोग गरिएका बमहरू बनाउन सफलता प्राप्त गरिसकेपछि तिनको सफल परीक्षण पनि न्युमेक्सिको राज्यको दूरदराजको मरुभूमिजस्तो विरानो ठाउँमा गरिएको थियो । युरोपतिर १९४५ को अप्रिल महिनातिरै युद्ध मत्थर भइसकेको थियो भने एसिया प्रशान्त क्षेत्रमा जापान र अमेरिकाको बीचमा युद्ध चर्किरहेको अवस्था थियो । अप्रिल १२, १९४५ मा अमेरिकी राष्ट्रपति रुजबेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुम्यानले जापानलाई आत्मसमर्पण वा कुनै ठूलो क्षति बेहोर्नका लागि धम्कीको घोषणा गरेका थिए, जसलाई पोस्टड्याम घोषणाको नामले जानिन्छ ।

युद्धविराम नभएपछि विश्व इतिहासमा भयानक कालो दिन र समय पनि आयो । त्यो हो अगस्त ६, १९४५ जापानी समयअनुसार बिहानको ८ बजे । हिरोसिमा सहरमा सूर्य उदाएर झलमल्ल हुँदै थियो । त्यति नै बेला अमेरिकी बम वर्षक विमान बी–२९ द्वारा बम खसालियो र पूरै सहर आगोको लपेटामा परेर ताप र विकिरणमा जकडियो । जसमा लगभग ९०५ किलोमिटरको हिरोसिमा सहर पूरै पुछियो र तत्कालै करिब ८० हजारभन्दा बढी मानिसले ज्यान गुमाए । जापानलगायत विश्वभर कोलाहल मच्चियो । स्वयं जापानीहरू अप्रत्यासित र कल्पनाबाहिरको घटना मानिरहेका थिए । यसैबीच तीन दिनपछि ९ अगस्तका दिन नागासाकीमा अर्को बम खसालियो । बम दुई पहाडको बीचमा खस्न पुगेकाले तुलनात्मक रूपमा कम क्षति भएको थियो । नागासाकीको त्यो विपत्मा चालीस हजार जनसङ्ख्याको तत्कालै मृत्यु भएको थियो । मानव इतिहासकै सबैभन्दा भयङ्कर, नयाँ तथा क्रूर घटनाले जापानी सम्राट् हिरोहितोले अगस्त १५ का दिन रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गर्नुप¥यो । पछिल्ला प्रभावहरू तापको राप र रेडियो विकिरणको कारणले गर्दा हिरोसिमामा एक लाख ५० हजार र नागासाकीमा ७५ हजार जनाको मृत्यु भएको थियो ।
पृथ्वीको एक भूखण्डमा भयानक त्रासदी बेहोरिसकेको अवस्थामा समकालीन विश्वमा अहिले पनि यस्तै खालका ध्वंस गर्ने हिसाबले अझ विकास गरिएका पारमाणविक हातहतियारहरूको डरलाग्दो होडबाजी चलिरहेको छ । संयुक्त राष्ट्रसङ्घमार्फत यस्ता क्रियाकलाप तथा होडबाजीलाई निस्तेज पार्न प्रयास गरिए तापनि वास्तविक धरातलमा त्यो सफल हुन सकिराखेको छैन । भोक र गरिबीबाट मुक्त हुन एउटा ठूलो हिस्सा सङ्घर्ष गरिरहेको छ भने हतियारको होडबाजीमा खर्बौं धनराशि खर्च भइराखेको छ । आणविक अप्रसार सन्धिको जति नै वकालत गरे पनि शक्तिसम्पन्न राष्ट्रहरूले नै यस्ता हतियारको भण्डारण गरेको हुनाले र यस्तै हतियारको विकास र तिनका परीक्षणले पनि मानव सभ्यतालाई विभिन्न कोणबाट चुनौती थपिँदै गएको छ । आजभन्दा ७६ वर्षपहिले घटेको घटनाको दीर्घकालीन प्रभाव अहिले पनि परिराखेको छ । शारीरिक विकृति, रक्त क्यान्सरलगायत तमाम आणुवंशिक रोग र उत्परिवर्तनका घटना देखिएका छन्, जो अहिले क्रमशः कम हुँदै गएको वैज्ञानिकको ठहर छ ।

सत्तामा रहँदा शक्ति भनौँ वा अधिकारका कारणले आमजनताको जिन्दगीसँग कसरी खेलबाड गर्न सकिँदो रहेछ र सनकको भरमा कसरी ठूलो क्षति पुग्न जाँदो रहेछ भन्ने उदाहरण बीसौँ शताब्दीको मध्यतिर घटेका पर्लहार्बर, हिरोसिमा र नागासाकीजस्ता प्रतिनिधि घटनाले स्पष्ट पार्दछन् । हिरोसिमा र नागासाकीको त्यो प्रलयकारी घटना र त्यसबाट मानव जातिले चुकाउनु परेको पीडा कति गहिरो बनेर मन–मस्तिष्कमा रहेको छ भन्ने कुराको अनुमान मात्र पनि लगाउन गाह्रो हुन्छ । सैन्य शक्तिको बलमा प्राकृतिक स्रोतसाधनको कब्जासँगै आफ्नो प्रभुत्व जमाउन खोज्ने जापानको ठूलो हारसहित आत्मसमर्पण गर्नुप¥यो । जापानी सम्राट् हिरोहितो त्यस बीभत्स घटनापछिका दिनमा जीवनभर दुःखी रहनुभयो र विश्वयुद्धताका जापानी प्रधानमन्त्री तोजो हिडेकीले आत्महत्याको प्रयास गरे । पछि उनलाई दिइएको मृत्युदण्डका कारण पनि त्यही रह्यो ।

प्रत्येक घटना साना वा ठूला किन नहुन्, तिनको अन्तर्यमा धेरै कुरा लुकेका हुन्छन् । दोस्रो विश्वयुद्ध चलिरहँदा चीनमा माओत्सेतुङको नेतृत्वमा सामाजिक तथा राजनीतिक रूपान्तरणको क्रान्ति चलिरहेको अवस्था थियो । अहिले एसियाली राष्ट्रहरूमध्ये महाशक्तिका रूपमा उदीयमान छ । जापानमा घटेको त्यो बीभत्स घटनाले जापानसँगै युरोपको पनि हार भयो । बीसौँ शताब्दीको मध्यतिर अब्बल रहेको युरोपको विज्ञान तथा प्रविधिलाई अमेरिका पु¥याइदियो र आर्थिक रूपमा पनि अमेरिका एक महाशक्ति राष्ट्र बन्न पुग्यो । साथसाथै विश्वमा रहेका विभिन्न क्षेत्रका बौद्धिक केन्द्र (थिङ्कट्याङ्क) पनि अमेरिका सरेका छन् । सतहमा हेर्दा पर्लहार्बरको घटना हिरोसिमा र नागासाकी त्रासदीको कारक भएको भए तापनि तत्कालीन सोभियत सङ्घ, जापान तथा युरोपका देशहरूले गरेका विकास र प्रगतिको हानथापमा उपयुक्त समयको खोजीमा रहेको अमेरिकालाई विज्ञान–प्रविधिसँगै आर्थिक रूपमा विश्व महाशक्ति राष्ट्रमा स्थापित हुन सहयोग पुगेको मान्न सकिन्छ । मानव सभ्यतामा घट्न पुगेको यस महाप्रलयकारी घटना अन्तिम होस् भन्ने कामना गरौँ ।                    गोरखापत्र अनलाइनबाट ।