गमक पोष्ट समाचारदाता / लहान, ३१ असार । साउनको सुरुवातसंगै सिरहाको लहानमा हरियो चुरा, पहेलो पोते र मेहन्दी किन्ने चटारो हिन्दु समुदायका महिलाहरुमा शुरु भएको छ ।
विवाहित हिन्दु महिलाले साउन महिनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्ग पालिस लगाएर श्रीमानको लामो आयु तथा दिर्घायुको कामना गर्ने गर्छिन् । सगरमाथा अञ्चलको प्रमुख व्यापारी केन्द्रको रुपमा परिचित लहान बजारमा अचेल हरियो चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याई नभ्याई रहेको छ ।
अविवाहित युवतिहरुले पनि असल बर पाउने विश्वासका साथ हरियो चुरा, मेहन्दी लगाएर ब्रत बसी भगवान शिबको मन्दिरमा पुजाआजा गर्ने गर्छन् । साउन महिनामा खासगरी अधिकांश हिन्दु महिलाले हरियो चुरा, पोते र मेहन्दी लगाउने गरेको स्थानीय व्यापारी मो. एजाजुलले बताए ।
उनका अनुसार, कतिपयले यसको धार्मिक महत्व बुझेर नै लगाउने गरेपनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा पोते र मेहन्दी लगाउने गरेका छन् । साउनमा बोटविरुवा पलाएर हरियाली छाउने र महिलाले पनि हरियो बस्त्र धारण गर्दा सुन्दर देखिने भएकाले साउन महिनामा हरियो चुरा, पोते, हरियो कपडा र मेहन्दी लगाउने गरेको एक महिला सञ्जु कुमारी मण्डलको भनाई रहेको छ ।
हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दु महिलाहरु श्रीमानको समृद्धि होस भनेर खासगरी सुहागन महिलाले हरियो चुरा, पोते र मेहन्दी लगाउने गरेको पण्डित राम कुमार शास्त्रीको कथन रहेको छ ।
साउन महिनामा हरियो चुरा, पोते र मेहन्दीको बढी बिक्री हुने गरेको तथा साउन महिनाभरी हरियो चुरा, पोते र मेहन्दीको मुल्य आकशिएको स्थानीयहरु बताउँछन् ।