गमक पोष्ट समाचारदाता / वीरगञ्ज, ३० असार । प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले आश्वासन बाँड्ने भन्दा पनि काम गरेर देखाउने दावी गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ ले सयुँक्त रुपमा आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले बाराको अमलेखगञ्जका बासिन्दाका लागि खानेपानीको व्यवस्था गर्ने प्रथम योजना भएको बताए ।
रक्सौलबाट अमलेखगञ्जसम्म पाइपमार्फत पेट्रोल जान सक्ने ठाउँमा पथलैयाबाट पानी किन जान नसक्ने भन्दै उनले प्रतिप्रश्न गरे । आफ्नो मन्त्रालयमा भएको ३५ करोड बजेटमध्ये ५ करोड अमलेखगञ्जमा खानेपानीको योजनाका लागि बिनियोजन गरेको शर्माले बताए । उनले भने, ‘अहिले भौतिक पूर्वाधार विकास मन्त्रालयमै कुर्सी राखेर बसेको हुँदा जनशक्ति अभाव, आवश्यक स्रोतसाधनको कमी लगायतका समस्याहरुबाट गुज्रिरहेका छौँ ।’ कांग्रेसका नेता आत्माराम ओझाको सम्मानमा प्रदेश २ का आठवटै जिल्लामा ओभरहेड ट्यांकी निर्माण गरी नवजल परियोजना सञ्चालन गर्ने, वैकल्पिक उर्जाको माध्यमबाट आत्माराम ओझा उज्जयालो अभियान र दुखा सहनी स्वच्छता अभियान अन्तर्गत स्वच्छ पिउने पानीको पहुँचमा काम योजना मन्त्री शर्माले सुनाए ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले वीरगञ्जलाई लोडसेडिंग मुक्त गर्न मुख्य भूमिका निर्वाह गरेका शर्मा मन्त्री बनेपछि बिशेष गरी वीरगञ्जवासीमा आशाको दियो बलेको बताए । प्रदेश नम्बर २ का मुख्यमन्त्री पर्सावासी भएपनि त्यसको फाइदा नभएको बताउँदै मेयर सरावगीले मन्त्री शर्माबाट वीरगञ्जले पनि अपेक्षा गरेको बताए । स्थानीय सरकार र प्रदेश सरकारबिचको तालमेल मिलाएर समन्वय गर्दै काम गर्न सके विकासले फड्को मार्न सक्ने सरावगीको भनाई छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मन्त्री बन्नुले संघको गरिमालाई अँझै उचाईमा पु¥याएकोमा खुशी व्यक्त गरे । महानगरपालिकाको मेयर, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष, मन्त्री लगायतका ओहोदामा संघका पूर्व अध्यक्षहरु हुनुले खुशीसँगै जिम्मेवारी बढाएको गुप्ताको प्रतिक्रिया छ । निजी क्षेत्रका साझा समस्याहरुलाई प्राथमिकता दिएर काम गर्न नवनियुक्त मन्त्री शर्मालाई अपिल गर्दै विगतका वर्षहरुमा अवरुद्ध रहेका विकास निर्माणका परियोजनाहरुले सार्थकता पाउने विश्वास गुप्ताले व्यक्त गरे ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, संघका पूर्व अध्यक्षहरु अशोक कुमार टेमानी, अशोक वैद्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब दिपेन्द्र चौहान, पर्सा शाखा अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टिका पोखरेल, प्रदेश २ भित्रका उद्योग वाणिज्य संघका अध्यक्षहरु, वीरगन्ज भन्सार र सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमख तथा उद्योगी व्यावसायी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश प्रसाद लाठले निजी क्षेत्रका साझा सवालको हकमा सबैले ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिए । उद्योगी एवम् व्यवसायीहरुको हकहित र अर्थतन्त्रको विकासका लागि हातेमालो गर्दै जानुपर्ने आवश्यक्ता औँल्याए ।
कार्यक्रमको सहजिकरण वीरगञ्ज उद्योग वाणिज्य संघका प्रशासनिक प्रमुख मनोज उपाध्यायले गरेका थिए ।