फाल्गुन देखि पिच गर्न भनेर तयार पारेर राखेको जयपुर–निमचौक स्थित कच्ची सडक ।

  • लिजेन ओरग्यान

लहान, २९ असार । निर्माण कामका लागिदेशभरी जसरी पप्पु कन्सट्रक्सनले नकारात्मक रुपमै भए पनि जसरी नाम कमाएको छ, ठिक त्यसरी नै स्थानीयस्तरमा टुनटुन ठेकदारले नाम कमाउने भरमग्दुर कोसिस गरीरहेको पाइएको छ ।
सिरहाको जिरोमाइल–बरियारपट्टी सडक खण्ड अन्तर्गत निमचौकदेखि गोठचौक सम्म मुश्किलले तीन किलोमिटर सडक पिच गर्ने ठेकदारी पाएको लहानका टुनटुन ठेकदार (टुनटुन साह)ले त्यहाँ महिनौदेखि गरीरहेको ल्याङ्गल्याङ्गे रबैयाका कारण स्थानीयहरु दिक्दार भइसकेका छन् । टुनटुन ठेकदारले आफ्नो निर्माण कम्पनीको नाम विकास निर्माण राखेको भएपनि रबैया भने ठिक एक सय अस्सी डिग्री (ठिक उल्टो) रहेको स्थानीयहरु बताउँछन्, किनकी व्यवहार चाँही विकास निर्माण हुन नसकोस् भन्ने खालको देखिएको छ ।

photo 2

निमचौक स्थित सुखिपुर पुग्न ५ किलोमिटर बाँकी लेखिएको माइलस्टोन ।

यदि व्यवहार निर्माण कम्पनीको नाम जस्तै भएको भए २०७७ मंसीर–पुष देखि थालेको काम २०७८ असार मसान्तसम्म आइपुग्दा अलपत्र पर्ने थिएन र त्यो सडक खण्ड पिच भएर स्थानीयहरु दंग हुन्थे । दिक्दार स्थानीयहरुले “फेरी चक्का जाम गर्नुपर्ला” भन्दै पिरोलीरहेको हुदैनथ्यो ।
सकड विभागसंग सम्झौता गरी काम सुरु गरेको करिब ७ महिना भन्दा बढी समय बिते पनि पिच किन नभएको भनी दुई हप्ता अघि यो पंक्तिकारले स्थानीयसंग सोध्दा उनीहरुले असार मसान्त भित्र काम सम्पन्न भइसक्ने आफुहरुले थाहा पाएको बताएका थिए । आज फेरी त्यहाँ पुग्दा पिच नभएको देखेपछि पुनः स्थानीयसंग कुराकानी गर्दा टुनटुन ठेकदार बेपत्ता भएको बताएका थिए ।
स्थानीय रामकुमार यादव भन्छन्–“पिच समयमै होस् भनेर हामीले यहाँ तीन चार चोटी चक्काजाम गरीसक्यौ तर टुनटुन त ठेकदार होइन ठकदार रहेछ । पिच गर्नका लागि राखेको कामदार बस्ने ठाउँको सामान र खाएको पैसा समेत होटलमा नतिरेर बेपत्ता छ टुनटुन ठेकदार ।”
“खत्तम रहेछ टुनटुनमा ठेकदार ।” अर्का स्थानीय रामानन्द चौधरी भन्छन््–“डिएसपीले समेत उसलाई गाली गरेर टाइममै काम गर्न दबाब दिए पनि उसले काम गर्ने मनसाय देखाएन, कति ठाउँमा उसलाई कुटेको पनि रहेछ, समयमा काम नगरेर।”
सात महिना भन्दा पहिले देखि काम सुरु गरेर आर्थिक वर्षको मसान्तसम्म सम्पन्न नगरेर टुनटुन ठेकदारले पप्पु कन्सट्रकसनलाई पनि जित्न खोजेको देखिन्छ । यस कामको बारेमा सडक विभाग र धनगढीमाई नगरपालिका समेतले समयमै काम सम्पन्न गराउन ध्यान दिन जरुरी देखिन्छ ।