गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २८ असार । वीरगञ्ज, २८ असार । सर्वाेच्च अदालतको फैसला विरुद्ध र प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले प्रधानमन्त्री ओलीको समर्थन जनाउँदै वीरगञ्जमा प्रदर्शन गर्नुका साथै सर्वाेच्च अदालत लेखेको पर्चासमेत जलाएका छन् । संसद विघठन बदर र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको परमादेशको विरुद्धमा संघका पर्सा अध्यक्ष मोहमद नेजामको नेतृत्वमा वीरगञ्जमा प्रदर्शन भएको हो ।
वीरगञ्जको घण्टाघर, माइस्थान, आदर्शनगर लगायतका क्षेत्रको परिक्रमा गर्दै प्रदर्शनमा सहभागिहरुले विभिन्न नाराहरु लगाएका थिए । सहभागीहरुले ‘वी वान्ट इलेक्शन, स्वतन्त्र न्यायपालिकाको रक्षा गर, कानुनी शासन कायम गरौ, संविधान मिच्न पाइँदैन, घातक गठबन्धन मुर्दावाद, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएको राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य रबी गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार कोणसभाको क्रममा प्रहरीसँग केहीबेर मुठभेड समेत भएको थियो । टायर बालेर विरोध जनाउने क्रममा प्रहरीसँग सामान्य झडप भएको संघले जनाएको छ ।
सो अवसरमा नेकपा एमालेका युवा नेता रामकिशोर सिँह ‘पराग’, शिवजी गुप्ता, अखिलेश साह, बाबुराम खनाल, अनेरास्ववियु पर्साका संयोजक रियाज अन्सारी, सन्तोष पासवान, बिशाल सर्राफ लगायतको उपस्थिती रहेको अनेरास्ववियुका केन्द्रिय सदस्य हेमन्त तामाङ्ले जानकारी दिए ।