गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २८ असार । वीरगञ्जमा बजार अनुगमन हुँदा ५ पसल दण्डित भएका छन् । उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिजय संघ र कञ्जुमर आई नेपालका प्रतिनीधिसहितको अनुगमन टोलीले वीरगञ्जका ५ पसललाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
खरिद बिल नदेखाउने वीरगञ्ज महानगरपालिका ११ मीनाबजारस्थित आयुष गल्ला किराना पसल, राहुल एण्ड नवीन किराना, न्यू अमित किराना स्टोर्स र कन्हैया किराना पसललाई २० हजारका दरले ८० हजार रुपैयाँ जरिवाना तिराएको उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रवक्ता दिलिप खंग खत्वेले बताए ।
सैगरी अनुगमन कार्यमा असहयोग गर्ने सोही ठाउँको कोमल स्टोरलाई पनि २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
जरिवानाको रकम एक साताभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको कार्यालयका प्रवक्ता खत्वेले जानकारी दिए ।