उद्घाटन गरिएको खडक नगरपालिकाको प्रशासनिक भवन ।
गमक पोष्ट समाचारदाता/ सप्तरी, २८ असार । सप्तरी स्थित खडक नगरपालिकाको ७ करोड ७० लाख ७९ हजार ८ सय ४८ रुपैयाँ लागत रहेको आधुनिक डिजाइनको चार तल्ले प्रशासनिक भवनको कल्याणपुरमा आज उद्घाटन गरिएको छ । सप्तरीमा नयाँ गठित नगरपालिकाहरु मध्ये खडक नगरपालिकाको प्रशासनिक भवन निर्माण पहिलो रहेको बताइएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज कल्याणपुरमा आयोजित एक कार्यक्रमको बीच भर्चुअल माध्यमबाट स्काई लाइट, वाटर पार्क तथा लिफ्ट सहितको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रम मार्फत मुख्यमन्त्री राउतले खडक नगरपालिकाले समयमै प्रशासनिक भवन संचालनमा ल्याएकोमा खुशी लागेको बताउनुभयो ।
भवन निर्माणको सूचना पाटी ।
करिब १० कठा क्षेत्रफलको कम्पाउण्ड अन्तर्गत एक कठा भन्दा बढी क्षेत्रमा ठडिएको प्रशासनिक भवनमा २६ कोठाहरु, १२ ओटा चर्पी र ८ ओटा युरिनलहरु रहेका छन् । नगरपालिकाका इन्जिनियर घनश्याम साहका अनुसार भवन पूर्णरुपमा भूकम्प प्रतिरोधी, महिला तथा अपाङ्गमैत्री छ । उहाँले भन्नुभयो–“सबै कोठामा पर्याप्त उज्यालो होस् र हावा छिर्ने खालको होस् भनेर स्काइ लाइट प्रविधि अपनाएर भवन निर्माण गरिएको छ ।”
“स्तनपान गराउने महिला सेवाग्राहीहरुलाई सजिलो होस् भनेर स्तनपान कक्ष निर्माण गरिएको छ ।”इन्जिनियर साहले भन्नुभयो–“यहाँ व्यवस्थित तरिकाले नाला बनाइएको छ, पानी परेको दस मिनेट भित्र कम्पाउण्डमा जमेको पानी बगेर जाने किसिमले बनाइएको छ ।”
भवनको दोश्रो तल्लामा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा तथा कम्प्युटर शाखाको लागि कोठाहरु व्यवस्था गरिएको छ । तेश्रो तल्लामा नगरपालिकाको सबै विषयगत शाखाहरु शिक्षा, स्वास्थ्य, कृषि, पशु तथा योजना शाखाको लागि कोठाहरु व्यवस्था गरिएको छ । सबै भन्दा माथिल्लो तल्लामा करिब १ सय ९० वर्ग मिटर क्षेत्रफलको सभा कक्ष बनाइएको छ । कम्पाउण्ड भित्र क्यान्टिन, सुरक्षा गार्ड बस्ने घर र कम्तीमा ५० ओटा दुई पांग्रे सबारी पार्किङ्ग सहितको व्यवस्था रहेको छ ।