गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २५ असार । नेकपा एमाले निकट अनेरास्ववियु ठाकुराम बहुमुखी क्याम्पस ईकाई कमिटीले क्याम्पसको क्याम्पस पमुखको कक्ष र परीक्षा शाखामा तालाबन्दी गरेको छ ।
परीक्षा शाखामा कार्यरत कर्मचारीले अनियमितता एवम् विद्यार्थीमाथी विभेद गरेको आरोपमा ईकाई अध्यक्ष आशिफ अहमद नेतृत्वको टोलीले शुक्रवार अपरान्ह साढे ४ बजे क्याम्पस प्रमुख उमेश चौरसियाको कार्यकक्ष र परीक्षा शाखामा तालाबन्दी गरेको हो ।
ईकाई अध्यक्ष अहमदले भने, ‘हाम्रै आँखा अगाडी एकजना विद्यार्थीको प्रमाणपत्र तथा आवश्यक कागजात नहुँदा कुनै नेतालाई फोन गर्दा नेताले पठाएको एकजना व्यक्तिको भनाईको आधारमा बिना प्रमाणपत्र उसको फर्म बुझियो ।,’ ‘तर हामीले आइतवार प्रमाणपत्र ल्याइदिन्छौ भन्दा पनि हाम्रो फर्म बुझिएन ।’ अहमद थप्छन्, ‘यसरी पहुँच हुने व्यक्तिहरुलाई नियम नलाग्ने र बिना पहुँचका विद्यार्थीहरुलाई दुःख दिने परिपाटी कदापी सह्य हुँदैन ।’
परीक्षा शाखामा कार्यरत अर्मेन्द्र र सुनिल नाम गरेका कर्मचारीले अनियमितता गरेको अहमदको आरोप छ । जनता समाजवादी पार्टी (जसपा) को विद्यार्थी संघ पर्साका अध्यक्ष फिरोज बादशाह, विद्यार्थी नेता प्रकाश रौनियार लगायतको उपस्थितीमा तालाबन्दी गरिएको हो ।
ठाकुराम बहुमुखी क्याम्पसका प्रमुख उमेश चौरसियाले विद्यार्थीहरुले ताला लगाउन हतार गरेको बताए । क्याम्पस प्रमुख चौरसियाले घटनाको बारेमा दुवै पक्षसँग बुझेर यदि कर्मचारीको गल्ती भए सम्झाउने र विद्यार्थीहरुको मागलाई सम्बोधन गर्ने प्रतिक्रिया दिए ।