गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २५ असार । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष एवम् योजना तर्जुमा संयोजक ममता महतोले अनुमानित ३६ करोड ८९ लाख २६ हजार ९ सय १३ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष महतोले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार लगायतलाई गाउँपालिकाले प्राथमिकता दिएको बताइन् । प्रसिद्ध धार्मिक स्थलहरु दुधेश्वरनाथ महादेव (भाठा बाबा) मन्दिर, गादीमाई मन्दिर, भौरीमाई मन्दिर, बनस्पतीमाई मन्दिर लगायतलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने अवधारणा गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।
घरघरमा स्वास्थ्य सेवा प्रदान, गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्सको व्यवस्था, गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा, गर्भवती महिलालाई पोषण भत्ताको व्यवस्थाका साथै युवाहरुका लागि आत्मनिर्भर तथा स्वरोजगार बनाउन विभिन्न सिप मुलक तालिमको व्यवस्था गर्ने उपाध्यक्ष महतोले प्रस्तुत गरेको कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष हरीनारायण चौधरीले कोरोना कहरको कारण प्रभावित भएका क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउने अभिप्रायले गाउँपालिकाले बजेट तयार पारेको बताए । गाउँपालिकाको स्रोत र साधनले भ्याएसम्मका कामहरु गर्ने र जनतालाई स्थानीइ सरकारको आभाष गराउने प्रयास आफुले शतप्रतिशत गरेको अध्यक्ष चौधरीको दावी छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकत भुजेन्द्र प्रसाद यादव, वडाअध्यक्षहरु, गाउँपालिकाका कर्मचारी, स्थानीय सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु साहले गरेका थिए ।