गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २४ असार । ‘हेलो प्रधानमन्त्री, नो मोर जोक’ यो नारा बिहिवार वीरगञ्जमा विद्यार्थी संघठनहरुले लगाएका छन् । प्रतिगमन २, महंगी, भ्रष्टाचार, पेट्रोलियम पदार्थको मूल्य बृद्धि लगायतको विरोधमा ५ विद्यार्थी संघठनले वीरगञ्जमा गरेको सिठी जुलुश प्रदर्शनमा उक्त नारा घन्किएको हो ।
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, जनता समाजवादी विद्यार्थी संघको समाजबादी बिद्यार्थी यूनियन, अखिल क्रान्तिकारी (माधव पक्ष) र अखिल छैँठोले सयुँक्त रुपमा गरेको सिठी जुलुशमा ‘राष्ट्रपती मुर्दावाद, प्रतिगमन २ मुर्दावाद, केपी ओली मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाएका हुन् ।
सिठी जुलुशपछि कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर २ का सहसंयोजक प्रभावकर गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको संसद बिघठन अलोकतान्त्रीक, असंवैधानिक र स्वेच्छाचारी कदम भएको बताए ।
कोरोना कहरले प्रभाविक भएको देशलाई प्रधानमन्त्रीले झनै प्रभावित बनाएर देशमा अस्थिरता निम्त्याएको गुप्ताको धारणा छ । गुप्ताले भने, ‘संसद कसैको व्यक्तिगत सम्पती हैन, जतिबेला मन लाग्यो त्यतिबेला विघठन गर्नलाई । समस्त नेपाली नागरिकलाई भोटको मूल्य चुकाउनुपर्ने बेला आएको छ अब । स्थिर सरकार बन्ने नागरिकको सपनामाथी तुसारापात गर्ने प्रधानमन्त्री र राष्ट्रपतीले राजीनामा दिनुपर्छ ।’
केहीदिन अघि मात्रै बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्नुपर्ने अखिल क्रान्तिकारी पर्साका अध्यक्ष कबीर पटेलले बताए । पहिलो र दोस्रो चरणको कोरोना महामारीमा स्थिर रहेको अर्थतन्त्रलाई चलायमान बनाउ र आम उपभोक्तालाई सहज वातावरणको सृजना गर्नुपर्नेमा मूल्य बढाएर जनताको ढाड सेक्ने काम कदापी सह्य नहुने अध्यक्ष पटेलको भनाई छ ।
सिठी जुलुशमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जुबेर आलम, नेविसंघ पर्साका कार्यबाहक अध्यक्ष बिकेल पटेल, अखिल क्रान्तिकारीका एहसान अन्सारी, मिरोज अहम्मद, सोयाब आलम लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।