गमक पोष्ट समाचारदाता / जनकपुर, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनरस्थापना हुने र देउवा प्रधानमन्त्री वन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
धनुषाका माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन आजै जनकपुर आएका अध्यक्ष दाहालले अदालतबाट संसद पुनरस्थाना हुने र सर्वोच्च अदालतमा बुझाइएको एक सय ४६ सांसदको हस्ताक्षरका आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने विश्वास व्यक्र गरेका हुन् ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेसी असार २८ गतेका लागि तोकिएको बताए ।
संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै संशोधनका पक्षमा आफू रहेको स्पष्ट पारे । उनले प्रदेश नम्बर २ को नाम मधेश रहनुपर्ने पनि जनाए ।
अध्यक्ष दाहालले दिवङ्गत पार्टी केन्द्रीय सदस्य यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । धनुषाको शहीदनगर नगरपालिका १ बालाबाखरका नेता यादव लामो समयदेखि अर्बुद रोगबाट पीडित थिए । उनी जनयुद्धका बेलादेखि नै माओवादीमा सक्रिय नेताहुन् ।