गमक पोष्ट समाचारदाता / काठमाडौं, १७ असार । कोभिड–१९ का कारण दुई महीनादेखि बन्द आन्तरिक हवाई उडान आज विहिवार बिहानबाट सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार आज बिहानबाट देशका विभिन्न भागमा दैनिक ६४ वटा आन्तरिक उडानज शुरू भएको हो ।
प्राधिकरणले बिहान ६ देखि बेलुकी ६ बजेसम्मको उडान तालिका सार्वजनिक गरेको छ। तत्कालका लागि दैनिक ६४ उडान तय भएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
अहिले बुद्ध एयरले ३१, यती एयरले १५, श्री एयरले सात, सौर्य एयरले तीन, नेपाल एयरले दुई, तारा एयरले दुई, समिट एयरले दुई र सीता एयरले दुई उडान भर्ने बताइएको छ।
अहिले सबै एयरलाइन्सले ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न लागेको प्रवक्ता क्षेत्रीको भनाई रहेको छ। आन्तरिक उडानमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि नौ वटा कम्पनीलाई अनुमति दिइएको छ। जसमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, टर्किस एयरलाइन्स, जजिरा एयरलाइन्स, फ्लाई दुबई एयरलाइन्स, सलाम एयरलाइन्स, एयर अरबिया र एअर इन्डिया रहेका छन्।
यसअघि पाँच वटा कम्पनीले उडान गर्दै आएका थिए । आजबाट थप चार एयरलाइन्सलाई उडान अनुमति दिइएको हो।