स्कुले विद्यार्थी छँदा हामी दसैं कहिले आउँछ भनेर पर्खिरहन्थ्यौं । दसैंको छेकतिर उज्यालो–छ्यांग आकाश–वातावरण, बर्खाले ल्याएको भल–पहिरोबाट मुक्त हुने समय, नयाँ लुगाफाटा–जुत्ता अनि त फेरि देउसी–भैलेनीको मीठो आगमन । दसैंमा हामी पाँच भाइ–बहिनी, आमा–आपा मने ड्राइभरको अस्टिन गाडीमा चढी लगभग ४० किलोमिटर टाढा लङ भ्यु चिया कमानको चिलाउने धुरामा माम–म्हेम्हेबाट टीका लगाई आशीर्वाद लिन पुग्थ्यौं ।

गाडीको किराया २६ भारु थियो । अमला–सुन्तला–निम्बु–भोगटे लटरम्म फलेको त्यस ठाउँमा केवल आनन्द र मजाले एक सप्ताह बित्थ्यो । टीकाको बिहानै घरको कटेरोनजिक सुन्दर ढुंगामा म्हेम्हेले खेपासुङको पूजा गर्दै, दसैंका लागि नै राखेको रातो–कालो सेखिने भालेलाई शिरमा पानी छर्कंदै तीनपल्ट पर्सिएपछि धारिलो–चिटिक्क खुकुरीले च्वाट्टै पार्थे । अनि फेरि टीका, विशेष भोजन, दही–मोही–चिउरा–मिठाई–निगार । अद्भुत रमाइलो, यस अवधिको विशेष आकर्षण हुन्थ्यो— माम–म्हेम्हेले टीका लगाइदिँदै दिने, सुनौंसुनौं लाग्ने, मन नै छचल्किने आशीर्वाद । अनि त फेरि मामले बाघमुखे सानो थैलीबाट दिने दसैंको भेट ।

भाग्यमानी हुनू, डाँडाकाँडा काट्नू, ठूलो मान्छे हुनू, धेरै ज्ञान–बुद्धि हासिल गर्नू, सदैव स्वस्थ रहनू, बूढापाका–आमा–आपा र आफूभन्दा ठूलाको सदैव आदर गर्नू, चोरी–ढाँटीदेखि टाढा रहनू — आशीर्वादका यी शब्द–वचनहरू लगभग १२–१३ वर्ष नै अन्तरात्मा नै भिज्ने गरी माम–म्हेम्हेले हामीभित्र हालिदिए । यो ‘भाग्यमानी’ शब्दले मलाई सदैव छुन्थ्यो, सताउँथ्यो, कौतूहल जगाउँथ्यो र खोजमा हिँड्न मन पर्थ्यो । कलेज र विश्वविद्यालयमा अध्ययन गर्दा अर्कोतिर ‘मान्छे आफ्नो भाग्यको आफैं निर्माता’ हो भन्ने भगवान् बुद्धको विचारले फेरि अर्कै ढंगमा विक्षिप्त भएँ ।

आज छ दशकको घुम्ती, गोरेटो, देवराली र भन्ज्याङ, डाँडाकाँडा टुकुलटुकुल हिँड्दै काटेपछि लामो सास लिँदै पछि फर्केर हेर्दा, फेरि याद आयो, ‘भाग्यमानी हुनू है’ को वचन–आशीर्वाद । अनि जीवनमा भाग्यसँग जुझेका, भाग्यले जुराएका र भाग्यले बगाएका क्षणहरू झलझल्ती याद आए । जीवनको भाग्यले जुराएका सुरम्य, सुगम र अविस्मरणीय क्षणहरूमध्ये सेन्ट मदर टेरेजाले मेरो शिरमा अलौकिक हात राखेर दिएको आशीर्वादसँगसँगै भारतको हरित क्रान्तिका पिता एमएस स्वामीनाथन र श्वेत क्रान्तिका पिता भर्गिज कुरियनको छत्रछायामा काम गर्ने मौका पनि हुन् । स्वामीनाथनसँग पाँच वर्ष अति नै घतलाग्दो ढंगमा मिलेर कार्य गरें । उनी सिक्किम केन्द्रीय विश्वविद्यालयको प्रथम कुलाधिपति (चान्सलर) अनि म संस्थापक कुलपति । एउटा अद्वितीय अवधि थियो यो । ‘ठूलो मान्छे’ को गुण थियो उनमा, वसुधैव कुटुम्बकम्ले खर्लप्पै खाएका व्यक्ति । मैले के चाहिँ सिकिनँ उनीबाट ? सन् १९६० को दशकमा हामी सपरिवारले भुससरीको रातो आँटाको रोटी खानुपर्थ्यो, किनकि धान–चामलको हाहाकार थियो देशभरि नै । स्वामीनाथन र उनका वैज्ञानिक साथी नर्मन बोर्लोहरूले भारतलाई कसरी खाद्यान्नमा आज पौडी खेल्ने बनाए, यो अचम्मैको यात्रा छ । पछि लेखुँला ।

भर्खरै पीएचडीको डिग्री हासिल गरेको समयमा मैले गुजरातको विश्वप्रसिद्ध, खेडा जिल्लाको आनन्दमा रहेको नेसनल डेरी डेभलपमेन्ट बोर्ड (एनडीडीबी) बाट त्यहाँको योजना एवं विकास विभागमा युवा अधिकारीका रूपमा काम गर्ने नियुक्तिपत्र पाएँ । ठूलो अवसर थियो यो । मानिएको संस्था अनि भर्गिज कुरियनको नेतृत्व । भारतले सातौं गुटनिरपेक्ष शिखर सम्मेलन (सन् १९८३) को आह्वानमा स्थापित गरेको रिसर्च एन्ड इन्फर्मेसन सिस्टममा सम्पूर्ण गुटनिरपेक्ष राष्ट्र र विकासशील राष्ट्रहरूबारे भव्य कार्य गर्ने संस्थामा कार्यरत थिएँ म । सबै त्यागेर आनन्द पुगें ।

सन् १९५०–६० को दशकमा भारतमा दूधको हाहाकार थियो । अमेरिकाको पीएल–४८० र विश्व खाद्य कार्यक्रम अन्तर्गत आएको पाउडर दूध र मखन तेलले भारतका कुनाकुनामा दूधको अभावको पूर्ति गरिन्थ्यो । मसिना बालबालिका दूध नपाएर कुपोषणको सिकार हुनुपर्थ्यो । त्यही बखत भर्गिज कुरियन, एक तरुण अभियन्ता, आनन्द पुगे । त्यहाँ निजी डेयरीहरूले दूध उत्पादन गर्ने कृषकहरूलाई गरेको शोषण आँखाले देखे । अर्कोतिर, यदि अमेरिका र युरोपले दिएको पाउडर दूध र मखन तेलमै निर्भर रहँदै गए, भारतका कृषकहरूले अलिअलि गर्ने दूध उत्पादन पनि बिस्तारै छोड्लान् र यसले भारतलाई विकसित राष्ट्रकै दूध आयातमा पूर्ण निर्भर बनाउला भन्ने भय भर्गिज कुरियन र उनका साथीहरूलाई भयो । र, दूध उत्पादनको अभियान चलाए; युद्ध नै छेडे ।

आज ६० वर्षपछि, सधैं दूधको अभावमा चुर्लुम्म डुब्ने भारत विश्वकै सबैभन्दा बढी दूध उत्पादन गर्ने राष्ट्र भएको छ । बर्सेनि लगभग २७ करोड टन दूध उत्पादन गरेर, विश्वको मोठ ८५ करोड टनको, २० प्रतिशत हिस्सा नै भारतले ओगटेको छ । यति घना जनसंख्या भएको राष्ट्रमा प्रतिव्यक्ति दूधको प्राप्यता सन् १९५१ को १३२ ग्राम र सन् १९९७ को १८० ग्रामदेखि बढेर सन् २०१८ मा ३५१ ग्राम पुगेको छ ।

दूध उत्पादनमा भारत विश्वकै एक नम्बरमा कसरी पुग्यो भन्ने कुरो धेरैलाई थाहा छैन । कुरियनको सोच दूरगामी, कार्यगराइ वैज्ञानिक ढंगको र नेतृत्व अति नै गहकिलो । उनीसँग निकै नजिकमा मैले बसेर तीन वर्ष काम गरें । उनले पाँच वटा ठूला हतियार चलाए, दूध उत्पादनमा परिवर्तन होइन रूपान्तरण ल्याउनलाई । प्रथमतः, दूधको अभावलाई पूर्ति गर्न जति पनि दूध पाउडर र मखन तेलको अनुदान भारतले पाउँथ्यो, त्यसलाई अबउसो जनमानसमा सीधै वितरण गर्न बन्द गरिदिए ।

यी सामानहरूलाई अबउप्रान्त भारतमै उत्पादन गरिएको दूधमा मिलाएर (रिकम्बाइन) बजारमा बेच्न थालियो । दूध अस्तिसम्म निःशुल्क बाँडिन्थ्यो, अब सबैले किन्नुपर्‍यो । दूध बेचेर आएको पैसा गाउँबस्तीका दूध उत्पादकहरूलाई दूधको उचित मूल्यका रूपमा दिन थालियो । दूध उत्पादन गर्नेहरूको संख्या बढ्न थल्यो । र, बिस्तारै दूधको अनुदानको अंश घट्दै गयो । अर्थात्, सन् १९५०–५१ मा भारतमा मोठ दूध वितरणमा धनी राष्ट्रहरूले खाद्य अनुदानस्वरूप दिएको हिस्सा ६७ प्रतिशत थियो, जुन घटेर १९६०–६१ मा ३६ प्रतिशत, १९८९–९० मा १० प्रतिशत र २००० देखि शून्य भयो । भारत आज दूध र यसका अरू वस्तुहरू निर्यात गर्ने एउटा प्रमुख राष्ट्र भएको छ ।

दोस्रो, कुरियनले दूध उत्पादनका लागि सन् १९६५ मा एनडीडीबीको स्थापना गरे । अनि यसैमार्फत अपरेसन फ्लड कार्यक्रम सुरु गरे । अर्थात्, दूधको भेल र भल ल्याउने प्रक्रिया सुरु गरे । तेस्रो, दूध उत्पादन र वितरण गर्ने एउटा नयाँ मोडल अघि ल्याए । हरेक जिल्लामा तीनवटा स्तरीय कोअपरेटिभको ढाँचा । गाउँका उत्पादकहरूको सहकारी संस्था, त्यसपछि जिल्लास्तरको सहकारी संस्था र राज्यस्तरको संस्था । यस मोडललाई व्यापक रूप दिन नामकरण गरियो— आनन्द मिल्क युनियन लिमिटेड (अमुल) । सबै राज्यमा यो मोडल अघि बढाइयो । आज यसमा भारतका १२ लाख सहकारी संस्था र १.३ करोड दूध उत्पादक कृषकहरू सदस्य छन् । अमुल अन्तर्गत गुजरातको राज्यस्तरको फेडरेसनले दूधबाहेक बर्सेनि २५ हजार टन मखन, २० हजार टन दूध पाउडर, १६ हजार टन चियाको स्प्रे, ५६०० टन घिउ, १५ सय टन दही र ५० लाख लिटर सुगन्धित दूध उत्पादन गर्छ ।

चौथो, दूध उत्पादन गरेर बजारमा बेच्ने सिलसिलामा हरेक स्तरमा कुरियनले नयाँ प्रौद्योगिकी ल्याए । गाईभैंसीले दिने दूधको गुण र परिमाण बढाउनलाई यी पशुहरूको प्रजनन नै परिवर्तन गर्ने र उन्नत बनाउने क्रस ब्रेड, आर्टिफिसियल इन्सिमिनेसन, इम्ब्रायो ट्रान्सफर आदि गाउँगाउँ पुर्‍याइए । गाईभैंसीले खाएको घाँस र कुँडोलाई दूधमा बढी मात्रामा परिणत गर्नलाई विशेष खाद्य र युरिया मोलासेस ब्लक आदि वितरण गरिए । गाईवस्तुका मुख, खुट्टा आदिमा लाग्ने बिमारलाई रोक्न नयाँ खोपहरू ल्याइए । दूध बोकेर गाउँको सहकारी संस्थामा पुग्ने कृषकहरू दूधमा कति फ्याट रहेछ भन्ने परीक्षण, सानो मेसिनमा एक कप दूध हाली, आफैं गर्न जान्ने भए र एक लिटरमा कति कमाएँ भन्ने कुरो पनि तत्कालै थाहा पाए । हरेक दिन, सप्ताह, महिनामा कृषकको घरमा नगद पैसा पुग्ने भयो ।

पाँचौं, गाउँमा जम्मा गरिएको दूध जिल्लास्तरको फ्याक्ट्रीमा पुर्‍याएपछि दूधलाई कसरी अन्य वस्तुमा परिणत गर्ने भन्ने काम सुरु गरियो । घिउ, मक्खन, दही, चीज, पनीर आदि बनाइएपछि कसरी दिल्ली, बम्बई आदितिर पठाउने अनि तरल दूधलाई प्याकेट र बटनले थिचेर झार्ने बल्क भेन्डिङ मसिनमा कसरी पुर्‍याउने भन्ने पद्धतिहरू व्यापक रूपमा बनाइए ।

दूध उत्पादनमा तीन ठूला चुनौती थिए । प्रथमतः, गाईभैंसीले दूध हिउँदमा धेरै बढ्ता र बर्खाझरीमा अति नै कम दिने गर्थे । र, राज्यराज्यमा दूधको कमी हुन्थ्यो । यतिसम्म कि, मिल्क ग्रीड नामक रेलगाडीको लहरमार्फत, कमी रहेका क्षेत्रहरूमा दूध पुर्‍याइन्थ्यो । हिउँदमा दूधको मूल्य खर्लप्पै घट्थ्यो । हामीलाई कुरियनले आउँदो हिउँदमा कुन जिल्ला र राज्यमा दूध यथेष्ट हुन्छ, यसलाई अध्ययन गरी अनुमान गर्ने पद्धति खोज भनेर काम दिएपछि म आफ्नै दल लिएर महाराष्ट्र–तमिलनाडु–उत्तर प्रदेश पुग्थें । हामीले दूध उत्पादनको अनुमान गर्ने कम्प्युटरजडित मोडल बनाएर गाउँगाउँमा बाँड्यौं । आज यो समस्या नै छैन । हिउँद र बर्खामा गाईभैंसीको दूध दिने क्षमताको क्षेत्रगत अनुपातलाई यति सन्तुलित ढंगमा मिलाइयो कि दूधको बहाव सदैव एउटै रहने भयो ।

अर्को चुनौती थियो— तरल दूधलाई पनि टेडा प्याकमा हाली साधारण पसलमा सर्फ र खानेतेल जस्तै कसरी बेच्ने ? कुरियनको ठूलो सपना थियो यो । हामीलाई बडोदास्थित हिन्दुस्तान प्याकेजिङ कम्पनीतिर अध्ययन गर्न पठाइन्थ्यो । अल्ट्रा हिटिङ तकनिक ल्याइयो । आज दूध नसड्ने वस्तु भई हरेक पसलमा पाइन्छ ।

अझै अर्को चुनौती थियो— साहीवाल, गीर, रेड सिन्धी, कांक्रेज आदि हाम्रा पारम्परिक नश्लका गाईभैंसीलाई जर्सी, होल्सटेन फ्रिजेन आदि जस्तै बढ्ता दूध दिने कसरी बनाउने ? सबै कुरा बिस्तारै समाधानको मार्गमा ल्याइए । अहिले त यतिसम्म भइसकेको छ कि, दूध दिने हरेक गाईभैंसीको शरीरमा जडित सानो विद्युतीय यन्त्रले तिनमा भिटामिनको कमी, खाद्य पोषणको खाँचो मात्रै नबताएर बाछा–बाछी जन्माउने रहर गर्दा उष्णता आएको कुरा पनि सहजै थाहा पाइन्छ ।

कुरियन अति नै अनुशासित व्यवस्थापक अनि अध्यक्ष थिए । आनन्दमा उनकोमा नै पहिलो मारुती–१००० पुगेको थियो । एक दिन उनलाई कहीँ टाढा जानुपर्‍यो । ‘तिमी पनि आऊ’ भनेपछि म गाडीमा चढें । म उनलाई सधैं एउटै प्रश्न गर्थें, ‘तपाईंको सफलताको मूल मन्त्र चाहिँ के हो ?’ त्यस दिन खेडा जिल्लाबाट बडोदा जाने बाटामा बाढी आयो, अचानक । गाडीबाट उत्रेर पानीको भेल हेर्दै गर्दा उनले मलाई भने, ‘औ लामा ! आज तिम्रो प्रश्न सोधेनौ त ?’ मैले फेरि प्रश्न दोहोर्‍याएँ । उनको जवाफ तीन–चार शब्दको थियो, ‘किनकि हामी दिल्लीबाट टाढा छौं ।’ अर्थात्, सफलताको मूल मन्त्र नै दिल्लीको राजनीति र नोकरशाहीबाट टाढा रहनु हो ।

कुरियनले नै खानेतेल र सागसब्जीलाई आफ्नो ‘मदर डेयरी’ भन्ने अभियानमा सामेल गरे । आज सब्जीसमेत दूध केन्द्रसँगै जोडिएको पसलमा पाइने भयो । एनडीडीबी अचम्मैको संस्था थियो । भ्रष्टाचारको नामोनिसान थिएन, तर सुविधा मनग्गे थियो । हाम्रो क्याम्पस सुन्दर थियो । त्यहीँ भेट भयो विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय संस्थाका दिग्गज व्यक्तिहरूसँग ।

कुरियनका अभिन्न मित्रहरूमा रामकृष्ण हेगडे, टीएन शेषन, श्याम बेनेगल आदि थिए । बेनेगलले बनाएको ‘मन्थन’ फिल्म विश्वप्रसिद्ध भयो, जसमा कुरियनकै कथाव्यथा पोखिएको थियो, साधारण कृषकहरू रमाएका दृश्यहरू थिए । अमुल मोडल आज विश्वमै प्रचलित छ । र, कुरियनले निर्माण गरेको रुरल म्यानेजमेन्ट इन्स्टिच्युट पनि ।

मैले गाउँगाउँमा घुमेर भारतलाई बुझें । तमिलनाडुको सलेम जिल्लाको आतुर भन्ने ठाउँको जिप्सी जस्तै जनजातिको नरीकुराबार भन्ने कोलोनीमा केही समय बिताएँ । यी जनजातिका अगुवाले एक दिन घरमा भोजकालागि बोलाएर गएको थिएँ । मलाई देखेर ससाना दुई छोरी–नानीहरू झ्यालबाट चियाउँदै हाँस्न लागे । कौतूहल भएर मैले ‘यी नानीहरू किनयसो गर्दै छन् ?’ भन्दा उनले जे भने त्यो अति नै मन छुने थियो । ‘हाम्रा छोरीहरूले तपाईंजस्तो अनुहार भएको व्यक्ति कहिल्यै देखेका थिएनन् । उनीहरू जन्मेपछि घर–गाउँ छोडेर कहीँ गएका छैनन् । हाम्रो कोलोनीमा कसैको घरमा पनि टेलिभिजन छैन र यी नानीहरू यस्तो अनुहार–रूप भएका मान्छे पनि हुँदा रहेछन् भन्दै कौतूहलले उफ्रेका हुन् ।’ तीस वर्षअघि पनि भारतको गाउँ यस्तो थियो ।

कुरियनलाई विश्वले पूजा गर्छ, कृषकहरूका निम्ति ईश्वरसरह व्यक्ति हुन् उनी । तर उनले ‘भारत रत्न’ जस्तो उपाधि र भारत सरकारको मान्यता कहिल्यै पाएनन् । उनीसँग जो पनि संलग्न भए, सबैलाई हौसला र प्रेरणाको भालाले छेडे; ज्ञान–बुद्धिको मुंग्रोले पिटे; गाउँ, गरिब र राष्ट्रप्रेमको ज्वालामुखीले पोले । यस्तो क्रान्ति ल्याए कि दूधको दूध त छँदै थियो, पानीको पनि दूध बनाइदिए, कृषकहरूलाई बजार व्यवस्थासँग स्वच्छ र प्रत्यक्ष रूफमा जोडेर ।                     कान्तिपुर अनलाईनबाट ।  

[email protected]