मणिलाल विश्वकर्मा
लहान, १५ बैशाख। आफ्नै घरमा शौचालय नहुँदा व्यक्तिको खेतबारी, बस्तीनजिकै रहेको खोलामा शौच गर्न जान बाध्य सिरहाको लहान नगरपालिका– १७ बलानसेर गाउँमा सामूहिक रुपमा प्रयोग गर्नेगरी सुविधा सम्पन्न शौचालय हस्तान्तरण गरिएको छ।
वर्षौंदेखि व्यक्तिको निजी जग्गामा बसोवास गर्दै आएको विपन्न दलित बस्तीलाई लक्षित गरी धारा, पानी, बिजुलीको सुविधासमेत रहेको सामूहिक शौचालय सोमबार हस्तान्तरण गरिएको हो।
बलान खोला वारी एकाध घर जस्ता र बाँकी प्रायः फुसले छाएको गुजमुज्ज मुसहर बस्तीका ३६ घरधुरीमा बसोवास गर्दै आएका ९४ महिला, ८३ पुरुष गरी १७७ तथा चार अपांगता भएकाहरुका लागि करिब साढे ३५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको १२ वटा शौचालय, १० वटा हात धुने स्टेशन र दुई वटा बेसिनसहितको संरचना नगर प्रमुख महेशप्रसाद चौधरीले रिवन काटेर उद्घाटन गर्दै हस्तान्तरण गरे।

शौचालय हस्तान्तरण गर्दै उनले खानेपानी, सरसफाइ तथा स्वच्छतामा दलित बस्तीको पनि पहुँच पुर्याउन नगरपालिकाको समेत साझेदारीमा शौचालय निर्माण गरिएको बताए। दलित बस्तीका बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गर्दै उनले त्यसका लागि कापीकलम नगरपालिकाले व्यवस्थापन गर्ने उल्लेख गरे। सामूहिक शौचालय बस्तीको मात्र नभई सिंगो नगरको सरसफाइको शान भएकाले सुरक्षासहित प्रयोग गर्न आग्रह गर्दै उनले शौचालय प्रयोग गरेपछि आफैंले नियमित सफा गर्ने बानी बसाल्न आग्रह गरे।
शौचालय निर्माणका लागि लहानका राजनीतिकर्मी तथा समाजसेवी अनिल महतो र सुनिल महतोले आफ्ना दिवङ्गत बाबु रामलोचन महतो र आमा गोदावरीदेवी महतोको सम्झनामा करिब १५ लाख रुपैयाँ मूल्यको १५ धुर जग्गा उपलब्ध गराएका साझेदार संस्था दलित जनकल्याण युवा क्लवका कार्यकारी निर्देशक विनोदकुमार विसुन्केले बताए। उनका अनुसार क्लवसहित लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपालको साझेदारीमा विकन परियोजनाअन्तर्गत हस्तान्तरण गरिएको शौचालय प्रयोेग गर्ने बस्तीमा ६ स्वस्थ्यकर व्यवहार परिवर्तनसम्बन्धी कक्षा संचालन गरिने छ।
घर घरमा धाराको स्वच्छ खानेपानीको प्रयोग र शौचालय जान थालेसँगै बस्तीलाई पूर्ण सरसफाइको दिशामा लैजान सहज हुने परियोजना प्रबन्धक राजेश लोहनीले बताए।
हरेक तीन घरलाई एक शौचालय
भवनमा दुई ब्लक गरी ११ वटा सामान्य र एउटा अपांगमैत्री शौचालय बनाइएको छ। लहान– १७ वडा कार्यालयसँगको समन्वयमा निर्माण गरिएको हरेक शौचालय बस्तीका तीन÷तीन परिवारले प्रयोग गर्ने गरी हस्तान्तरण गरिएको हो। शौचालय प्रयोग गरेपछि सरसफाई गर्ने, धाराको टुटी, हात धुने ठाउँको सुरक्षा, साबुनसहित सरसफाइ सामग्री खरिद र मर्मत सम्बन्धी कामको जिम्मबारी प्रयोगकर्ताको रहने गरी बस्तीका मानिसहरुले नियम बनाएर कार्यान्वयन थालेका छन्।
शौचालयको व्यवस्थित संचालनका लागि बस्तीका नौजना रहेको गोपीकृष्ण बलान सामुदायिक शौचालय संचालन र व्यवस्थापन समिति गठन गरिएको अध्यक्ष सीतादेवी सदायले बताइन्। उनका अनुसार शौचालय संचालन र मर्मतका लागि समुदायले नै मासिक रुपमा पछिल्लो तीन महिनादेखि प्रति घरधुरी मासिक एक सय रुपैयाँ जम्मा गर्न थालेका छन्।
‘दिसा पिसाव गर्न बिहान उज्यालो नहुँदै बलान खोला, गाउँ नजिकै रहेको खेतबारीमा जानु पर्दा साह्रै पीडाबोध हुन्थ्यो’ बस्तीकी करिब ६३ वर्षीया शंकरिया सदायले भनिन् ‘त्यही कारणले बस्तीनजिकै जमिन भएकाहरुले गर्दै आएको गालीगलौज अब चाहिँ सहन नपर्ने भयो।’
बस्तीको मध्यभागमा पूर्वतर्फ दुई ब्लकमा बनाइएको शौचालय स्थानीयले सधैं प्रयोग गर्ने, खुला दिसा पिसाव नगर्ने र गर्न नदिने, सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभ्यास दैनिक व्यवहारमा उतार्ने, शौचालय सधैं सफा राख्ने लगायत ६बुँदे प्रतिबद्धता जनाएका छन्।






















