जनार्जन खत्री
सर्लाही, १५ बैशाख। सर्लाहीको ईश्वरपुर नगरपालिकाभित्रका आठ वटा सामुदायिक विद्यालयलाई मङ्गलबार ई–रिक्सा प्रदान गरिएको छ। नगरपालिका कार्यालयले विद्यार्थी भर्ना अभियान २०८३ को औपचारिक सुरुवात भएको दिन पारेर नगरभित्रका आठवटा सामुदायिक विद्यालयलाई ई–रिक्सा हस्तान्तरण गरेको हो।

ई–रिक्सा प्रदान गर्ने विद्यालयहरुमा जनता प्राथमिक विद्यालय सागरनाथ ईश्वरपुर ४, चन्द्रकुमारी प्राथमिक विद्यालय धनपट्टीडाँडा ईश्वरपुर ७, जनता आधारभुत विद्यालय खोरियाटोल ईश्वरपुर ९, जनशक्ति आधारभुत विद्यालय बेला ईश्वरपुर १०, जनता माध्यमिक विद्यालय करमोहान ईश्वरपुर ११, जनता आधारभुत विद्यालय नयाँटोल ईश्वरपुर १२, जनता आधारभूत विद्यालय घाटटोल ईश्वरपुर १३, र जनता आधारभुत विद्यालय हरकठवा ईश्वरपुर–१४, रहेका छन्।
सबै विद्यालयलाई मङ्गलबार अपरान्ह नारायण माध्यमिक विद्यालय बयलवासमा कार्यक्रमको आयोजना गरी एक–एक थान ई–रिक्सा हस्तान्तरण गरिएको ईश्वरपुर नगरपालिकाका शिक्षा अधिकृत दिनेश लुइटेलले जानकारी दिए। उनका अनुसार नगरबाट विनियोजित ४० लाख रुपियाँ बजेटले आठवटा विद्यालयलाई ई–रिक्सा प्रदान गरिएको हो।
विद्यालयहरुलाई १० देखि १२ जना अट्ने ई–रिक्सा प्रदान गरिएको हो। ई–रिक्सा सञ्चालनका लागि विद्यालयका कार्यालय सहयोगी र बाल विकास शिक्षकलाई १० दिने तालिमसमेत प्रदान गरिएको ईश्वरपुर नगरपालिका कार्यालयले जनाएको छ।
सामुदायिक विद्यालयलाई टाढाका विद्यार्थी विद्यालयसम्म ल्याउन सहजहोस् भन्ने उद्देश्यसहित ई–रिक्सा प्रदान गरिएको नगरप्रमुख मनोजकुमार आचार्यले बताए। नगरप्रमुख आचार्य, उपप्रमुख रन्जितादेवी चौधरीलगायतले सम्वन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई ई–रिक्सा हस्तान्तरण गरेको हो।
सोही अवसरमा नगरपालिका कार्यालयले नगरभित्र अवकाश प्राप्त शिक्षक र हाल कार्यरतमध्ये उत्कृष्ट शिक्षकलाई सम्मानसमेत गरेका थिए।






















