मणिलाल विश्वकर्मा

लहान, १७ बैशाख। सिराहाको नवराजपुर गाउँपालिका १, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि शंकास्पद मृत्युसम्बन्धी घटनामा वडा सदस्यसहित १४ जनालाई जरिवाना र कैद सजाय भएको छ।

मुद्दा दर्ता भएको १३ महिना १० दिनमा सिराहा जिल्ला अदालतले १० वैशाखमा सजाय निर्धारणको फैसला सुनाउँदै बलात्कारमा संलग्न किशोर र सहयोगी तथा घटनालाई गाउँमै मिलापत्र गराउन पञ्चायती बसेका वडासदस्यसहितका प्रतिवादीहरूलाई जरिवाना र कैद सजाय सुनाएको हो।

shrijana school 2083

अदालतका मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले आंशिक अभियोग दाबी पुग्ने फैसला सुनाएको अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्याम यादवले बताए।

उनका अनुसार घटनामा संलग्न नाबालकहरू ०८१ लहान (ण११), ०८१ लहान (ण१), ०८१ लहान (ण६)सहित पञ्चायतमा संलग्न नवराजपुर–१ का वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, बिन्देश्वर साह, कारी भन्ने करिया मुसहर, रामदेव सदाय, रामपुकार मण्डल, बौका डाक्टर भनिने रामनारायण दास तत्मा, किसुनदेव दास तत्मा, रामसेवक साह, रामप्रितसाह तेली, भगत सदाय दोषी ठहर भएका हुन्। दोषी ठहर भएकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा १ को कसुरमा उपदफा २ बमोजिम जनही ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको उनले बताए।

संहिताको दफा २२७ क को उपदफा १ को कसुरमा उपदफा २ बमोजिम जनही चार महिना कैद र चार महिना कैद हुनेमा निजहरूले दफा ४३ (१) बमोजिमको कसुर गरेको ठहर गर्दै दफा ४३ (२) बमोजिम जनही आठ महिना कैद र सात हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ। त्यसका अतिरिक्त प्रतिवादी वडासदस्य साहले दफा २२७ क (३) बमोजिम उक्त सजायमा थप ६ महिना कैद सजाय हुने, संहिताको दफा १८६ र २२८ बमोजिम प्रतिवादीहरूबाट जनही ३५ हजार रुपैयाँ पीडितको हकवालालाई भराइदिन र वडासदस्यले चार सय तथा अन्य प्रतिवादीहरूले जनही दुई सय रुपैयाँ क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने फैसला भएको छ।