नवीन प्रियदर्शी 

जनकपुरधाम, १७ बैशाख। धार्मिक तथा ऐतिहासिक स्थल जनकपुरधाममा दैनिक हजारौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्  विशेषगरी राम तथा जानकी मन्दिरमा आउने श्रद्धालुको सङ्ख्या उल्लेख्य हुन्छ। तीमध्ये अधिकांश पर्यटक केही घण्टामै जनकपुरबाट बाहिरिने गरेका छन्।

साँझपख आइपुगेका पर्यटकबाहेक बिहानदेखि मध्याह्नसम्ममा आएका अधिकांश पर्यटक साँझ पर्नासाथ जनकपुरबाट बाहिरिसकेका हुन्छन्। यसले गर्दा पर्यटन क्षेत्रबाट जनकपुरधामले खासै उपलब्धि हासिल गर्न सकेको छैन।

shrijana school 2083

जनकपुरधाममा ५२ कुटी र ७२ कुण्ड रहेको विभिन्न ग्रन्थमा उल्लेख छन्। यी कुटी र कुण्ड केवल धार्मिक संरचनामात्र होइनन्, जनकपुरको पहिचान र गौरवका प्रतीक हुन् । ती सम्पदाहरू संरक्षण र व्यवस्थापनको अभावमा सङ्कटमा परेका छन्। ७२ कुण्डमध्ये धेरै हराइसकेका छन भने बाँकी रहेका कुण्ड पनि अस्तव्यस्त र उपेक्षित अवस्थामा छन्।

गंगा सागर, धनुष सागर, दुधमती, अग्निकुण्ड, बिहार कुण्ड, दशरथ सागर, अर्गजा सागरजस्ता धार्मिक कुण्डहरूमा दैनिक श्रद्धालु स्नान र दर्शनका लागि पुग्छन् । धार्मिक मान्यता अनुसार यी कुण्डमा स्नान गर्दा पाप क्षय हुने जनविश्वास छ। तर कुण्डहरूको अवस्था हेर्दा श्रद्धालुहरू निराश हुने गरेका छन्। पानी फोहोर, दुर्गन्धित, सरसफाइको अभाव र उचित संरक्षण नहुँदा धेरैजसो श्रद्धालु ती कुण्ड तथा सागरमा नुहाउन सक्दैनन्।

महाराष्ट्रबाट पहिलोपटक जनकपुरधाम आएका श्रद्धालु रमेश सर्राफले भने, ‘पहिलोपटक जानकीजीको दर्शन गर्न आएँ। माता जानकीको जन्मथलो हेर्न मन लागेको थियो। कस्तो होला भन्ने उत्सुकता लिएर हामी यहाँ आएका थियौँ, तर यहाँको अव्यवस्थित अवस्था देखेर मन दुख्यो। सरकारले व्यवस्थित गर्नुपर्छ। जनकपुर घुम्दा फोहर देखियो, मच्छरले दिनमै सतायो। बस्ने मन हुँदाहुँदै पनि बस्न सक्ने अवस्था देखिएन।’

जानकी मन्दिर परिसरमा समेत खानेपानी, शौचालय, जुत्ता–चप्पल राख्ने उचित व्यवस्था छैन। मन्दिर परिसर वरिपरि फोहरको थुप्रो देखिन्छ। दर्शन गर्न आउने श्रद्धालुहरूका लागि आधारभूत सुविधा नहुँदा उनीहरूलाई असहज महसुस हुने गरेको छ।जनकपुरधाम केवल जानकी मन्दिरमै सीमित छैन। मिथिला संस्कृति, सन्तहरूको ज्ञानको तपोस्थल र मिथिला परिक्रमाको पनि विशेष महत्त्व छ। हिन्दु धर्मावलम्बीहरू वर्षौंदेखि मिथिला परिक्रमा गर्दै आएका छन्। यद्यपि परिक्रमा मार्गमा देखिएको दृश्यले धार्मिक भावनामाथि चोट पुर्‍याइरहेको छ।

परिक्रमा मार्गको छेउछाउमा मदिरा पसल र माछामासु पसल खुलेआम सञ्चालनमा छन्। धार्मिक यात्रामा निस्किएका श्रद्धालुहरू नाक छोपेर हिँड्न बाध्य हुने अवस्था छ।

भारतको अयोध्याबाट आएका सन्त रामदास बाबाले भने, ‘यो धार्मिक स्थल हो। परिक्रमा वरिपरि यस्ता क्रियाकलाप हुनु हुँदैन। यसले धर्मप्रतिको आस्था र परिक्रमाप्रतिको श्रद्धामा आघात पुर्‍याउँछ।’

परिक्रमा मार्गमा मदिरा तथा मासु पसल नराखियोस् भनेर जनकपुरका युवा तथा विभिन्न संघ–संस्थाहरूले बारम्बार आवाज उठाउँदै आएका छन्, तर त्यो माग कार्यान्वयन भएको देखिँदैन । विवाह पञ्चमीका बेला केही दिन बन्द भए पनि अरु समयमा यस्ता पसलहरू खुलेआम सञ्चालन हुने गरेका छन्।

गौ संरक्षण मञ्चका राष्ट्रिय अध्यक्ष जगदीश महासेठले भने, ‘मैले पटक–पटक जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएँ। कमसे कम परिक्रमा मार्गमा यस्ता क्रियाकलाप नहोस् भन्ने हाम्रो माग हो, तर तीन वटै तहका सरकारले हाम्रो कुरा सुनेको छैन।’

उनका अनुसार धार्मिक सहरको मर्यादा, मिथिला संस्कृति, आध्यात्म जोगाउन प्रशासनले गम्भीरता देखाउनुपर्ने बेला आएको छ।

मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले जनकपुरधामको ऐतिहासिक र धार्मिक महत्त्व रहेको र यसको संरक्षणमा सरकारको चासो रहेको बताउँछन्।

उनले भने, ‘जनकपुरधाममा ७२ कुण्ड र ५२ कुटी छन्। यसलाई संरक्षण र सम्बर्द्धन गरेर धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्छ।’

जनकपुरधामको विशेषताबारे उचित प्रचारप्रसार आवश्यक रहेको उनले बताए। फोहर व्यवस्थापनमा पनि स्थानीय सरकारसँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।

जनकपुरमा दैनिक हजारौँ पर्यटक आउने गरे पनि आफूहरूलाई कुनै फाइदा नभएको होटल व्यवसायीहरू बताउँछन्। होटल व्यवसायी संघ नगर अध्यक्ष रुपेश सिंहले भने, ‘यहाँ पर्यटक नबस्ने मुख्य कारण बाटो फोहर, ट्राफिक व्यवस्थापन उचित नभएको र जनकपुरको मौलिकताको परिचयको अभाव हो। खाली जानकी मन्दिर दर्शन गरेर फर्किन्छन्। जनकपुरमा यस्ता धेरै कुरा छन्, जसले पर्यटकलाई आकर्षण गर्न सक्छ। मिथिला पहिरन, मिथिला भोजन, मिथिला कला संस्कृति झल्काउने कुराको अभाव छ।’

जनकपुरधाममा धार्मिक पर्यटनसँगै सांस्कृतिक पर्यटनको सम्भावना पनि उत्तिकै छ, तर त्यसलाई व्यवसायिक ढंगले प्रस्तुत गर्न सकिएको छैन।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले भने, ‘जनकपुरको आर्थिक विकास पर्यटनसँग जोडिएको छ। यहाँ पर्यटक आएर बस्ने वातावरण बनाउनुपर्छ। धार्मिक सम्पदाको संरक्षण, बजार व्यवस्थापन, ट्राफिक सुधार, सरसफाइ र स्थानीय मौलिकताको प्रवर्द्धन अत्यावश्यक छ।’

उद्योग, व्यापार र पर्यटन एकअर्कासँग जोडिएका क्षेत्र भएकाले पर्यटक बस्न थालेको खण्डमा जनकपुरको अर्थतन्त्रमा ठुलो परिवर्तन आउने भण्डारीको भनाइ छ।

भण्डारी भण्डारीले भने, ‘जनकपुर प्रवेशद्वारमै धार्मिक र सांस्कृतिक पहिचान झल्किने संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ, जसले यहाँ आउने पर्यटकलाई पहिलो नजरमै जनकपुरको विशेषता बुझाउन सकोस्।’

स्थानीय पत्रकार तथा बुद्धिजीवीहरू पनि जनकपुरको मौलिक पहिचान स्थापित गर्न एकीकृत अभियान आवश्यक रहेको बताउँछन्। नियमित सफाइ, खानेपानी र शौचालयको व्यवस्था, परिक्रमा मार्गको शुद्धता, ट्राफिक सुधार, धार्मिक तथा सांस्कृतिक सूचना प्रणाली, स्थानीय मौलिकताको प्रचार र महँगी नियन्त्रणमा काम गर्न सके पर्यटकलाई जकपुरमा टिकाउन सकिने उनीहरूको भनाइ छ।

(रातोपाटीबाट)