सिरहा, १५ बैशाख। सिरहामा बालबालिकाका पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरुभएको छ। बालबालिकाको पोषण सुधारका लागि देशभर ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सञ्चालन गरेको हो।

दलित विकास मञ्च गोलबजारले हेलेन केलर ईन्टरनेशनलको आर्थिक सहयोग तथा पालिकाहरूको समन्वयमा संचालित ‘जिवनका लागि पोषण कार्यक्रम’ अन्तरगत सिरहा १७ ओटै पालिकामा हजार दिनका आमाहरुसहित बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरुगरेको हो।
मञ्चका कार्यकारि निर्देशकले बालबालिकाको उचाई र तौल साथै पाखुराको मध्य भागको परिधि नापेर पोषणको अवस्था पत्ता लगाउन जिल्ला भरि अभियान सुरु भएको बताए। लेखा जोखा अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका करिब ६० हजार बालबालिकाहरूको तथा सुनौलो हजार दिनका आमाहरू करिब १४ हजारलाई पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्न सहयोग पुग्ने बताए। उनले आज वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिए।
यस अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत घर घरमै पुगेर बालबालिकाको पाखुराको मध्य भागको परिधि नापेर पोषणको स्थिति पत्ता लगाउने बताए।
कार्यकारी निर्देशक महराले बहिरङ्ग सेवा मार्फत ‘तयारी उपचारात्मक खाना’ निःशुल्क उपलब्ध गराइने जानकारी दिए।
अभियान स्वास्थ्य संस्था तथा खोप केन्द्रहरु, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरुमा सञ्चालन हुने नेपाल सरकार को योजना रहेको छ।






















