गमक पोष्ट समाचारदाता / सिरहा, २१ जेष्ठ । सिरहाका पूर्व सांसद् एवम् नेकपा (माओवादी केन्द्र) का नेता विष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ । कोभिड १९ बाट सङ्क्रक्रमित सिराहाको कर्जन्हा नगरपालिका ५ बडहरा मिर्चैया वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा साँझ ७ बजेतिर निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।
उनको आजै सिरहाको ममला नदीकिनारमा कम्यूष्ट मार्टीका झण्डा ओडाएर अन्तिम संस्कार गरिएको छ । वाइबालाई नेकमा माओवादीका केन्द्रिय नेता तथा पूर्वमन्त्रीहरु विश्वनाथ साह, रामकुमार यादव, अजयशंकर नायक लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएका थिए ।
यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाइबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । दाहालले वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता र कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको बताएका छन् । शुक्रबार एक शोक वक्तव्य जारी गर्दै उनले सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय रहेको उल्लेख गरेका छन् ।
शोक वक्तव्यमा भनिएको छ, ‘उहाँ नयाँ पुस्तालाई वर्ग संघर्षका वीरतापूर्ण गाथा सुनाई उर्जावान बनाई रहनुहुन्थ्यो । कमरेड वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै उहाँप्रति पुनः एकपटक श्रद्धा सुमन प्रकट गर्दछु ।’
स्थानीय सामन्त विरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरेका वाइबा २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौ.म.) को केन्द्रीय सदस्य थिए । २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०६५ सालमा तत्कालीन एकता केन्द्र र माओवादीबीच एकीकरण भएपछि आफूलाई किनारा लगाउन खोजिएको महसूस गर्दै तामाङ् डा. भरत लामिछानेहरुले खोलेको नेकपा तदर्थ समिति हुँदै नेकपा एकीकृतमा सकृय भएका थिए । पहिलो संविधानसभा विघटन हुनुपूर्व पार्टीले प्रभावकारी भूमिका खेल्न नसकेको ठहरसहित तामाङ् २०७० सालको संविधानसभाको निर्वाचनको अन्तिम समयमा कर्जन्हा बस्तीपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डको उपस्थितिमा माओवादी केन्द्र प्रवेश गरेपछि पोलिटब्यूरो सदस्य भएका थिए । उनका तीन छोरा र दुई छोरी रहेका छन् ।
।