गमक पोष्ट समाचारदाता / काठमाडौँ, १५ जेष्ठ । कोभिड १९ नियन्त्रणलाई र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक अनुमानित बजेट सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्थाअनुसार जेष्ठ १५ भित्रै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले आज शनिवार सार्वजनिक हुन लागेको हो ।
प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।