पर्सा, २ जेष्ठ । कोरोना संक्रमणको महामारी र निषेधाज्ञाका कारण वीरगन्ज नाकाको अन्तर्राष्ट्रिय कारोबार प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर भन्सार राजस्व असुलीमा असर परेको छ। कोरोना महामारीले मालबस्तुको आयात निर्यातको कारोबार प्रभावित हुँदा वीरगन्ज भन्सार कार्यालयको राजस्व असुलीमा पनि असर परेको हो। कोरोना संक्रमणको दोस्रो लहर नेपालमा वैशाखदेखि सुरु भएको हो। संक्रमण वृद्धि दर उच्च भएपछि संक्रमण रोकथाम र नियन्त्रणका लागि पर्सा जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको छ ।
महामारी र निषेधाज्ञाका कारण वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा असर परेको हो। वैशाख महिनामा वीरगन्ज भन्सारले लक्ष्यभन्दा २ अर्ब ६० करोड कम राजस्व संकलन गरेको छ। भन्सार विभागले वीरगन्ज भन्सारलाई वैशाख महिनामा १९ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। तर वैशाखमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८६.६३ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको हो। वैशाखमा वीरगन्ज भन्सार लक्ष्यभन्दा १३.३७ प्रतिशत कम अर्थात् १६ अर्ब ८४ करोड ५७ लाख ८२ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार वीरगन्ज भन्सारले सामान्य अवस्थामा दैनिक औसतमा ६५ करोड रुपैयाँ राजस्व संकलन गर्ने गरेको छ। तर वैशाख महिना सुरु भएयता भन्सारको दैनिक राजस्व असुली दर औसतमा ५६ करोड मात्रै रहेको पौडेलले बताए। गत वैशाखमा कोरोना महामारी र लकडाउनका कारण वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको २९ प्रतिशत मात्रै राजस्व उठाएको थियो ।
अहिले फेरि विश्वभरि कोरोना संक्रमणको महामारी फैलिएका कारण भारत तथा तेस्रो मुलुकबाट मालवस्तुको आयात सहज नहुँदा त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा पनि परेको पौडेलले बताए। नेपालमा संक्रमणको दोस्रो लहर सुरु भएयता मुख्यतः बढी राजस्व उठ्ने इन्धन र नयाँ सवारीसाधनको आयात नै ह्वात्तै घटेका कारणले त्यसको सीधा असर राजस्व असुलीमा परेको उनले बताए ।
पौडेलले भने, ‘देशभर निषेधाज्ञा छ, गाडी चलेकै छैनन्, गाडी नचलेपछि इन्धनको खपत कम भएर थोरै परिमाणमा इन्धन आइरहेको छ, महामारीमा नयाँ सवारीसाधन कसले किन्छ र आयात हुनु।’ यसका साथै अधिकांश उद्योग कलकारखना बन्द रहेका कारण औद्योगिक कच्चा पदार्थको आयात पनि घटेको पौडेलले बताए ।
पौडेलले भने, ‘अहिले जुन राजस्व उठेको छ त्यो इन्धन र थोरबहुत कच्चा पदार्थको आयातले धानेको हो।’ महामारी छिट्टै नियन्त्रणमा आउने र निषेधाज्ञा पनि छिट्टै हट्ने सम्भावना तत्काल नदेखिएकाले जेठपछिका महिनामा राजस्व असुली अझ कम हुने आकलन उनको छ । गत चैतमा भने वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको १३१ प्रतिशत राजस्व संकलन गरेको थियो ।
भन्सार विभागले चैतमा १५ अर्ब १७ करोड ६७ लाखको लक्ष्य दिएको थियो। चैतमा वीरगन्ज भन्सारले लक्ष्यभन्दा झन्डै साढे ४ अर्ब बढी अर्थात १९ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। भन्सारका १९ कर्मचारी संक्रमित, १ को मृत्यु कोरोनाको दोस्रो लहर सुरु भएयता वीरगन्ज भन्सार कार्यालयमा कार्यरत १९ जना कर्मचारी पनि संक्रमित भइसकेका छन् । अन्नपूर्ण पोष्टबाट