काठमाडौं, २६ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बोलाएको विशेष अधिवेशनको विषयमा छलफल गर्न आज दिउँसो एक बजे र्बैटाक बोलाएको हो । बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ ।

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि तयारी र सम्भावित कार्यसूचीबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।
सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘स्वास्थ्य सुरक्षाको हिसाबले बैठकलाई कसरी व्यवस्थित बनाउने, संक्रमित सांसदहरुलाई कसरी ल्याउने–लैजाने व्यवस्था मिलाउने, कसरी र कुन ठाउँमा मतदानको व्यवस्था मिलाउने लगायत बैठकका विषयहरु हुन् ।’
संसद सचिवालयले वैशाख २२, २३ र २४ गते गराएको पीसीआर परीक्षणमा २६ जना सांसद र १ सय ४१ जना कर्मचारीहरुलाई संक्रमण पुष्टि भएको थियो । दुईजना सांसदहरुको पीसीआर परीक्षण रिपोर्ट भने आउन बाँकी रहेको सचिवालयले जनाएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा वैशाख २७ गते नै विश्वासको मतमा मतदानको मिति कहिले तोक्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ३६ सांसदको समर्थन लिनुपर्छ । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट छ । यद्यपि एमालेको माधव–झलनाथ पक्षका सांसदहरुले ओलीलाई मत नदिने संकेत देखिएको छ ।
यसैगरी नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १–१ सांसदहरु छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका २–२ जना सांसद निलम्बित छन् ।