गमक पोष्ट समाचारदाता / लहान, २० बैशाख । घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको संयुक्त अनुगमन टोलीले सिरहाका विभिन्न बजारहरुमा अनुगमन गरेको छ । कोभिड १९ का बेला सामानको मूल्य बृद्धिहुने र अभाव देखाएर म्यमद गुजरेका सामानहरुपनि विक्रिगर्ने अवस्था आएपछि अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा खाद्यन्न अनुज्ञापत्र अनुमति वेगर सञ्चालन गरेको भन्दै सिरहाको नरहा गाउँपालिका ३ नयाँ चोहर्वाको दुधगंगा डेरी उद्योगमाथि कार्वाही अघि बढाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको संयुक्त अनुगमन टोलीले खाद्यन्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरी दुध, दही लगायतका सामग्री बजारमा बिक्री गरिरहेको पाएपछि सञ्चालकमाथि कार्वाही प्रक्रिया अघि बढाएको छ ।
अनुगमनका क्रममा खाद्यन्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरेकाले कार्वाही अघि बढाएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले जानकारी दिए ।
डेरी सञ्चालकलाई सम्पुर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताए ।
यस्तै बजार अनुगमनकै क्रममा सिरहाको मिर्चैया नगरपालिकास्थित एक दर्जन किराना पसल तथा मिठाई पसलहरुबाट म्याद गुज्रिएको खाद्यन्न, पेय पदार्थ तथा खानेतेलहरु नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका सुरेश सिंहले जानकारी दिए ।
पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ लगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताए । तर, पसलेहरुले त्यस्तो कुनै स्वास्थ्य सुरक्षा नअपनाइएको पाइएन ।
पसल अनुगमनका क्रममा मूल्य सूची नराखेका पसलहरुमा अबिलम्ब उपभोक्ताले सहजै देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको उनले जनाए । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनको भनाई थियो ।