गमक पोष्ट समाचारदाता/ काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । नेपाली काग्रेस, नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव पेशगरेकाले मूख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा आजबाट छलफल सुरू हुने तय भएको थियो । आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बस्दैछ ।
त्यसअघि एमाले संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठकमा सहभागी हुन जानुअघि पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए ।
एमाले संसदीय दलको बैठकमा पोखरेलले राजीनामा दिएको विषयमा ब्रिफिङ गरेका थिए । राजीनामा दिएपछि पोखरेलले संसदीय दलको बैठकमा प्रदेशसभाको ठूलो दलको हैसियतमा पुनः एमालेकै नेतृत्वमा सरकार बनाउने ब्रिफिङ गरेको स्रोतले बतायो ।
आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि पोखरेलले जसपाका चार सांसदलाई मन्त्री बनाएपनि जसपाले कारबाही गरेपछि मन्त्री बनेकाहरूको सांसद पद गुमेको थियो ।
मूख्यमन्त्री पोखरेल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपत्र मानिन्छ ।