गाम पोष्ट समाचारदाता / काठमाडौं, १० बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको निर्वाचन गराउने घोषणा गर्दै पार्टीका सवैनेता कार्यकर्तालाई तराइरहन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छने बताउँदै सवै कमिटीहरु आजैदेखि क्रियाशिल हुन निर्देशन दिएको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेका हुन् ।
स्थानीय तहको निर्वाचन पाँच–पाँच वर्षको अन्तरमा हुनुपर्छ । तर, सरकारले आवश्यक ठाने पाँच वर्षअघि पनि स्थानीय तहको निर्वाचन गराउन सक्छ । यसअघि स्थानीय तहको निर्वाचन ०७४ वैशाखदेखि असोजसम्मसम्म तीन चरणमा भएको थियो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।
बैठकबाट नयाँ स्थायी कमिटी निर्माण र कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने निर्णय भएको छ ।