गमक पोष्ट समाचारदाता


सिरहा, २२ फागुन । सिरहामका एक एग्रोभेटले गरेको गलत औषधी सिफारसका कारण पोखरीमा पालिएको लाखौंको मूल्यको माछा मरेको छ । मिर्चैया नपा ५ थाना चोकमा रहेको स्वस्तिका इन्टरप्राइजेजले दिएको औषधी पोखरीमा हालेपछि कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको हो ।
फिस चुना लिन गएका पोखरी ठेकेदार विष्णुपुर गाउँपालिका २ का अमर प्रसाद यादवलाई इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सीलाइट (अक्सिजन) नामक दुई वटा औषधि प्रयोगले माछा परेको जनाएको छ । इन्टरप्राइजेजका सञ्चालक जय साहले यो औषधी सवै समस्या सामाधान हुने भन्दै सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सीलाइट (अक्सिजन) दिएर पठाएको ठेकेदार यादवले बताए ।
उनलेभने, ‘मैले फिस चुना माँगेको थिएँ, पसलेले मलाई सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सीलाइट (अक्सिजन) राम्रो औषधी हो भनेर दिएँ, उहाले भने अनुसारै प्रयोग गरेँ तर २४ घण्टा नवित्दै पोखरीको माछा सवै सखाप भयो ।’
यादवले दुई महिनाअघि मात्र पोखरी ८ लाखमा ३ वर्षका लागि ठेक्कामा लिएका थिए । त्यसलगतै हालेको विभिन्न प्रजातीका लाखौं मूल्यको माछा सखाप भएको छ । माछा मरेलगत्तै उनी फेरि मिर्चैया आए, पसले भेटेनन्, उनलाई फोन गर्दा शनिबार आउन समय दिए ।
शनिबार भेटेर पसलेसँग गुनासो गर्दा पसलेले आफ्नो औषधिले माछा नै नमरेको भन्दै उल्टै झगडा गर्न खोजेको यादवले सुनाए । पसलेले गलत औषधि दिँदा पानी विषाक्त बनेर माछा मरेको अमरको आरोप छ ।
पसलेले झगडा गर्न खोजेपछि उनले मिर्चैया प्रहरीमा क्षतिपूर्तिका लागि निवेदन गरेका छन् । पीडित अमर प्रहरीमा गएको थाहा पाएलगत्तै स्वस्तिका इन्टरप्राइजेजका सञ्चालक पसलको बोर्डसमेत हटाई बन्द गरेर फरार भएका छन् ।
प्रहरीले आफूले सवै घटना सुनेको भन्दै आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । घटना प्रहरीको पुगेपछि दर्ता विनै चलाएको पसल भएकाले पसले फरार रहेको बताइएको छ । पसले साहले आफ्नो औषधीका कारण माछा नगरेको बताएको छ ।