गमक पोष्ट समाचारदाता


सप्तरी, ११ फागुन । प्रहरीले सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिलालाई नियन्त्रणमा लिएका छन् । प्रहरीले सप्तरी छिन्नमस्ता गाउँपालिका–५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दासलाई नियन्त्रणमा लिएका हुन् ।
बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक राजु श्रेष्ठकाले बताए । शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १० लाख रुपैयाँ बरामद भएको र उनीहरुले सो रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।