गमक पोष्ट समाचारदाता
जनकपुर, ९ फागुन । आफ्नै भान्जाको अपहरण गरी फिरौती माग्नेलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी भान्जाको अपहरण आरोपमा महोत्तरीको पिपरा गाउँपालिका ७ का लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताए । धनुषाको नगइराइन नगरपालिका ६ को लग्माबाट सात वर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए । प्रहरीले बालकलाई शनिवार साँझ आठ बजे जनकपुर उपमहानगरपालिका ७ कटैयाचौरीको सरोज ठाकुरको घरबाट उद्धार गरेको थियो ।
बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले एक करोड रुपैयाँ फिरौती मागेका थिए । त्यसलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइ सकिएको छ भने घटनामा संलग्न रहेको आशङ्कामा अन्य दुई जनालाई समते अनुसन्धानको निमित्त नियन्त्रणमा लिएको जनाएको छ ।