गमक पोष्ट समाचारदाता


सिरहा, ९ फागुन । सिरहा गोलबजार नपा ६ का पुराना बामपन्थि नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगले पीडित नेता लामाको आज विहान उपचारको क्रममा विराटनगरमा निधन भएको हो ।
लामाको घरमै राखिएको पार्थिव शरिरमा आज नेपाल कम्यूनिष्ट पार्टी नेकपा दहाल–नेपाल समूका प्रवक्ता एवम् पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ र पूर्वशिक्षा मन्त्री गिरीराजमणि पोखरेलले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेकपाका नेता एवम् पूर्वमन्त्री विश्वनाथ साह, दिपवहादुर योञ्जन, रामकुमार यादव, पेशल खतिवडा, प्रकाश पोखरेल लगाएतले फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
१९९५ फागुन १४ गते जन्मेका लामा २०१६–०१७ सालबाट बाम राजनीतिमा सक्रिय भएका थिए ।
त्यसवेलाका वामराजनीतिका नेताहरु कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलहरुको सम्पर्कमा लामा पार्टी प्रबेश गरेपनि उनीहरुको विचारसँग सहमति हुन नसकेका नेता लामा जयगोविन्द साहको नजिक भएर काम गरेका थिए ।
तत्कालिन अवस्थामा नेपालको सवैभन्दा शक्तिशालि कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको बैकल्पीक केन्द्रीय सदस्यको निर्वाचित भएको थिए । उनले तत्कालिन अवस्थामा भएका वर्गसंघर्षको नेतृत्व गरेका थिए ।