गमक पोष्ट समाचारदाता


विराटनगर, ६ फागुन । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले यस्तै अवस्थारहे प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् । आफू प्रदेशभा भङ्ग गर्ने पक्षमा नरहेपनि उहाँहरु (प्रचण्ड–माधव समूह) को रबैयाका कारण त्यस्तो अवस्थामा पुग्न सक्ने उनले बताको हो ।
प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । त्यसबेला मुख्यमन्त्री राईले आरामले अविश्वासको प्रस्ताव सामना गर्छु भनेपनि अहिलेसम्म सम्सद चल्न सकेको छैन ।
उनले आफू प्रदेश शभा भङ्ग गर्ने मक्षमा नरहेपनि अवस्थामा सुधार नखाए अवस्था त्यहाँसम्म पुग्न सक्ने बताए । उनले भने, ‘म त्यो पक्षमा छैन, तर उहाँहरु (प्रचण्ड–माधव समूह) को रबैयाका कारण त्यहाँ नपुग्ला भन्न सकिन्न ।’
उनले अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएकै बिहान अधिवेशन आह्वानका लागि सिफारिस मैले गरेको बताए । उनलेभने, ‘यदि त्यस्तो हुन्थ्यो भने त्यस अघि (प्रस्ताव दर्ता अघि) नै विघटनको सिफारिस गर्न सक्ने अवस्था हुन्थ्यो नि । तर म त्यस(विघटन) को पक्षमा छैन ।’
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता पनि लिएका छन् । तर राईलाई आफ्नो सरकार जोगाउन पुग्ने मत छैन । प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था आएपछि सत्तारुढ पक्षले प्रदेशसभा नै अवरुद्ध गरेको छ ।
अर्को बैठक ९ फागुनमा बोलाइएको छ । आज बिहीबार ओली पक्षका नेताहरुले प्रचण्ड–माधव समूहका नेताहरुलाई भेटेर अविश्वासको प्रस्ताव फिर्ता लिन वा पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय पर्खिन आग्रह गरेका भएपनि प्रचण्ड–माधव समूहले सहमति नजनाएको बताइएको छ ।