गमक पोष्ट समाचारदाता
सप्तरी, २६ पुस । स्थापनाको छोटो समयमै सप्तरीको राजगढ नर्घाेस्थित डिहवार बाबा सांस्कृतिक कला कुञ्जले फड्को मार्न थालेको छ ।
राज्यको उदासिनता र उचित संरक्षणको अभावमा स्थानीय कलाकारहरु पलायन भइरहेका बेला जिल्लाका बरिष्ठ कलाकाहरुको सक्रियतामा स्थापना भएको सो कलाकुञ्जले मैथिली कला र संस्कृतिको क्षेत्रमा फड्को मार्न थालेको हो ।
जिल्लाका चर्चित बरिष्ठ कलाकार मायानन्द विश्वकर्मा, रामकुमार सिंह लगायतका कलाकारहरुद्वारा स्थापित सो कलाकुञ्जले स्थानीय स्तरका उदयमान कलाकारहरुलाई उचित सिपमुलक तालिमसँगै सांस्कृतिक मञ्चहरुमा समेत उतार्दै आएको छ ।
कला र संस्कृतिको जगेर्ना गर्दै स्थानीय स्तरमा बढी भन्दा कलाकार उत्पादन गर्ने र रोजगारीको समेत सुनिश्चितता गर्ने लक्ष्यका साथ स्थापना गरिएको कलाकुञ्जले मैथिली कला र संस्कृतिको क्षेत्रमा आफ्नो कदम अगाडी बढाउँदै लगेको अध्यक्ष राजेश्वर यादवले बताए ।
‘‘जिल्लामा थुप्रै उदयमान कलाकारहरु छन् तर उचित अवसर नपाउँदा कलाकारहरु पलायन हुने अवस्था छ” अध्यक्ष यादवले भन्नुभयो, ‘‘त्यसैले त्यस्ता उदयमान कलाकारहरुलाई कला र संस्कृति सम्बन्धि तालिक सिप दिएर कलाकारहरु संरक्षण गर्ने योजनासहित हामीले कलाकुञ्ज बनाएका छौं ।” २०७६ सालमा स्थापना भएको कलाकुञ्जमा राखेर अहिले १३ जना उदयमान कलाकारहरुलाई गीत संगितसँगै बादबादन सम्बन्धि तालिम दिईरहेको अध्यक्ष यादवको कथन छ ।
बिधिवत कानुनी रुपमा मान्यता प्राप्त गरी कला र संस्कृतिको क्षेत्रमा पाईला चालेको कलाकुञ्जले स्थापनाको पहिलो बर्षमै करिब आधा दर्जन कलाकार उत्पादन गर्न सफल भएको बताईएको छ ।
संगठित रुपमै अघि बढ्ेको कलाकुञ्जले निकट भबिष्यमै मैथिली, हिन्दी, नेपाली लगायतका भाषामा गिती एल्बम समेत सार्बजनिक गर्ने लक्ष्य लिएको कलाकुञ्जका सचिव तथा बरिष्ठ कलाकार मायानन्द विश्वकर्माले जानकारी दिनुभयो ।