गमक पोष्ट समाचारदाता
काठमाडौं, २२ पुस । आफ्नै सहकर्मीको कपडा काट्ने कैची प्रहारबाट काठमाडौंको बालाजु बाईपासका कलाम मियाँको मृत्यु भएको छ । मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका मियाँलाई उनकै सहकर्मीको कैंची प्रहारबाट मृत्यु भएको हो ।
हत्यामा संलग्न आरोपी भारत बिहारका सुवोध शर्मालाई फर्पिङबाट प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । शर्माले पेटमा कैंचीले घोपेर घाईते बनाएका मियाँको उपचारको क्रममा त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
मियाँको बुवाको कपडा सिलाई कारखानामा उनीहरु दुवैजना काम गर्थे । पुरानो रिसिवीले गर्दा सुवोधले मियाँलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
मृतकले रडले हिर्काउन खोजेपछि आफूले प्रतिकार गरेको सुवोधले प्रहरीलाई साविती बयान दिएका छन् । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको कैंची बरामद गरेको छ । आरोपीको कोठामा भारतिय आधारकार्ड फेला परेको डिएसपी प्रमेश विष्टले बताए ।