गमक पोष्ट समाचारदाता
जनकपुर, १९ पुस । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको बताएको छ ।
पार्टीका भात्रिसंगठन समाजवादी युवा संघले जनकपुरमा आयोजना गरेको दुई दिने युवा प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रमलाईसम्बोधन गर्दै अध्यक्ष यादवले संविधानमा रहेको असन्तुष्टीहरुलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नु पर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रलाई नै समाप्त गर्ने चेष्टा गरेको बताए ।
उनले नेकपाको पछिल्लो गतिविधिले मुलुकमा नेकपाको काम नरहेको स्पष्ट भै सकेको र काँग्रेस पनि ढुलमुले भएकोले लामो आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको दावी गरे।
डेट एक्सपायर भै सकेको नेपाली काँग्रेस र इन्जिन विग्रिएको नेकपाले मुलुकलाई अग्रगामी दिशामा लान सक्दैन, अध्यक्ष यादवले भने, ‘परिवर्तनको सम्बाहक युवाहरुले गणतन्त्रको रक्षागर्नुपर्ने बेला आएको छ, तपाईहरु तयार हुनुहोस् ।’
कार्यक्रममा कार्यकारिणी समितिका सदस्य सरतसिह भण्डारीले ओली नेतृत्वको सरकारले चुनाव गराउन नभई सत्तामा टिकी राख्न र थप प्रतिगमनकारी कदमहरु चाल्न संसद विघटन गरेको आरोप लगाए । उनले न्यायपालिका लाई समेत संसद पुनस्र्थापना नगर्न दिन दहाडै धम्की दिने प्रधानमन्त्री अोलीलाई सडक बाटै परास्त गर्नु पर्ने बताए ।
त्यस्तै प्रदेश २का मुख्यमन्त्री एवम् जसपाका कार्यकारिणी सदस्य लालबाबु राउतले संघीयता र समावेशितालाई समाप्त गर्न प्रतिगामीकारी शक्तिहरुले योजना तहत संविधानको मर्म विपरित प्रतिनिधि सभा विघटन भएको दावी गरे ।
युवा संघका अध्यक्ष योगेन्द्र राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय कुमार यादव, राज्यमन्त्री उषा यादव, केन्द्रिय सदस्य महाजन यादव, विभा पाण्डे सहितका वक्ताहरुले सम्बोधन गरेको थिए ।