गमक पोष्ट समाचारदाता
सिरहा, १० पुस । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिरहा मिर्चैया ३ का ४० वर्षिय खगेश्वर गोहिवारलाई अनुसन्धानको लागि पहिलो पटक जिल्ला अदालत सिरहाबाट ७ दिन म्याद थप गरेको छ । ज्यानमार्ने उद्योग, अङ्गभङ्ग तथा अभद्र व्यवहार सहित आधा दर्जनभन्दा बढी मुद्दाका फरार अभियुक्त गोहिवारलाई प्रहरीले सप्तरीको छिन्नमस्ता गाको सखडाबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ गरेको गोहिवारलाई आजै जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल प्रसाद जयसवालले जानकारी दिए । उनले गोहिवार यसक्षेत्रमा हुनेधेरैजसो आपराधीक घटनामा संलग्न रहेको बताए । उनलेभने, ‘पछिल्लो पाँच÷छ महिनामामात्र ज्यानमार्ने उद्योग, अङ्गभङ्ग, अभद्र व्यहहार सहित ५ वटा मुद्दा दर्ता रहेको छ, यस अघिपनि अदालतसम्म मुद्दा पुगेको छ, त्यसमा के भएको छ भन्ने मलाई जानकारी भएन ।’
प्रहरीले कतिपय मुद्दामा उनी अदालत हाजिर भए नभएको पनि अनुसन्धान गर्नुपर्ने बताए । उनलेभने, ‘उनीमाथि दर्जन हाराहारीमा मुद्दा रहेको भन्ने सुनिएको छ, त्यसमा कतिमा उनी हाजिर भएको छ, छैन त्यो पनि अनुसन्धान गर्नु पछ ।’
गोहिवार पक्राउ परेपछि मिर्चैयाक्षेत्रमा सर्वसाधारणले खुसिको सास फेरेको छ । उनका कारण त्यसक्षेत्रका जनता आतङ्कित रहेको वडा नं. ३ का अध्यक्ष हरिनारायण यादवले बताए । उनका अनुसार गोहिवारले गाउँघरका सर्वसाधारणलाई दुःख दिने, सार्वजनिक कामहरुमा बाधा अवरोध खडा गर्ने, मादक पदार्थ सेवन गराएर युवाहरुमार्फत हुलहुज्जत गर्ने जस्ता कार्यले स्थानीय आजित भएका थिए ।
उनलाईलाई चित्त नबुझेकै भरमा विकास निर्माणका काममा कामगर्ने कामगर्ने कामदारहरुलाई समेत कुटपीट गर्ने कारण उनीदेखि स्थानीय आतंकित रहेको स्थानीय बताउँछन् । उनी कहिले वडा कार्यालयमा आक्रमण गर्ने, कहिले विद्यालय तोडफोड गर्ने र सर्वसाधारणलाई मरणसन्न हुनेगरी कुटपिट गर्ने जस्ता कार्य गर्दै आएको बताइएको छ ।
पक्राउ परे लगतै उनलाई छुटाउन एउटा समूह लागि परेको बताइएको छ । उनलाई राजपाका केही केन्द्रिय तहका नेताहरुले संरक्षण गर्दै आएको बताइएको छ ।