गमक पोष्ट समाचारदाता

सिरहा, १७ मंसिर । इलाका प्रहरी कार्यालय गोलबजारले प्रतिवन्धित लागु औषध गाँजा फडानी अभियान अन्तर्गत एक हजार ६ सय विरुवा उखेलेर नष्ट गरेको छ । प्रहरीले गोलबार नपा २, लालपुरका धेरैघरहरुको करेसाबारीबाट थोरै–थोरै गरी करिव एक हजार ६ सय विरुवा उखेलेको हो ।
व्यवसायीक रुपमा खेति गरेको नदेखिएपनि कोठेबारीमा रहेका १५–२० विरुवाहरु गाउँभरीबाटै उखेलेर गागन खोलामा लगेर जलाएर नष्ट गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष कुमार राईले जानकारी दिए ।
कोरोना कहरका कारण गाउँ वस्तिमा प्रहरीको उपस्थिति कम भएकाले यो वर्ष गाँजा खेती धेरै भएको प्रहरीले अनुमान गरेको छ ।
गाजाँको मूल्य दिनानु बढेसँगै सिरहामा लुकिछिपी गाँजा खेतीगर्ने किसान बढेको बताइन्छ । भारतिय बजारमा मदिरा बन्द हुदा गाँजाको माग बढेकाले नेपालमा अहिले गाँजा प्रति केजी १५ देखि २५ हजार केजीका दरले बिक्री हुने गरेको स्थानिय किसानहरु बताउछन ।
भारतीय बजारमा पुग्दा त्यसको त्यसको मूल्य भारुमा परीणत हुने गरेको छ । प्रहरीले उखेलेकै ठाउँमा सवै गाँजा नष्ट गरेको जनाएको छ ।
सिरहाको चुरेक्षेत्र र उदयपुरलाई उन्नत गाँजाको उर्वर भूमि गाँजा व्यसायीहरुले मान्दै आएको बताइन्छ ।